काभ्रे :- वर्षायाम सुरु भएसँगै जङ्गलमा विभिन्न प्रजातिका जङ्गली च्याउ उम्रिन थालेका छन्। मौसमी रूपमा मात्र पाइने जङ्गली च्याउ सङ्कलन गरेर धुलिखेल नगरपालिका–७ की मिना तामाङले आफ्नो जीविकोपार्जनमा सहजता ल्याउँदै आउनुभएको छ।
विगत १० वर्षदेखि जङ्गली च्याउ खोज्दै, खाने र बिक्री समेत गर्दै आउनुभएकी तामाङलाई बुधबार बिहान धुलिखेल नगरपालिका–८ स्थित शान्तीवन क्षेत्रमा भेटिएको हो। उहाँ अन्य तीन जना साथी सहित बिहान करिब ६ बजे जङ्गलमा च्याउ खोज्न जानुभएको थियो। करिब तीन घन्टाको खोजिमा ३ झोला च्याउ सङकलन गरिसक्नु भएको थियो ।
जङ्गलबाट झोला भरेर च्याउ बोकी फर्किंदै गर्दा भेटिनु भएकी तामाङले आफूले सङ्कलन गरेको च्याउ देखाउँदै त्यसको नाम ‘रत्याउ’ भएको बताउनुभयो। जङ्गली च्याउदेखि मानिसहरू डराउने गरेको बताउँदा उहाँले आफूलाई भने डर नलाग्ने बताउनुभयो।“नचिन्नेलाई हो डर, हामीलाई डर लाग्दैन,” उहाँले भन्नुभयो।

मिनाले हामीसङ सम्वाद गरे पनि जङलबाट फर्किने समय भैसकेकाले अन्य तीन मिनाका साथिहरुले भने कुरा गर्न मान्नु भएन । आफूले सङ्कलन गरेको च्याउ खान मिल्ने बताउँदै तामाङले संवादकै क्रममा उक्त च्याउ चाखेर समेत देखाउनुभयो। करिब दुई मिनेटको कुराकानीमा उहाँले जङ्गली च्याउ सङ्कलन गर्ने, खाने र बिक्री गर्ने आफ्नो अनुभव सुनाउँदै च्याउ खाने तरिकाबारे समेत जानकारी दिनुभयो।
तामाङका अनुसार उहाँले अघिल्लो दिन रु एक हजार छ सय र त्यसअघि रु दुई हजार तीन सय बराबरको च्याउ बिक्री गर्नुभएको थियो। बुधबार सङ्कलन गरेको तीन झोला च्याउबाट पनि रु एक हजार देखि एक हजार दुई सय सम्म आम्दानी हुने उहाँको अपेक्षा छ।
वर्षायाममा सीमित समयका लागि मात्र जङ्गली च्याउ पाइने भएकाले यसबाट हुने आम्दानी पनि मौसमी हुने उहाँले बताउनुभयो। च्याउको मौसममा हुने आम्दानीले घरखर्च चलाउन सहज हुने गरेको उहाँले बताउनुभयो।
यद्यपि, सबै प्रकारका जङ्गली च्याउ खानयोग्य नहुने भएकाले पहिचान बिना यसको सेवन गर्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले सावधानी अपनाउनु पर्ने आवश्यक छ।


