सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • मानसिक रोगीको सङ्ख्या बढ्दै

मानसिक रोगीको सङ्ख्या बढ्दै

3820
Shares
मानसिक रोगीको सङ्ख्या बढ्दै

जुम्लामा मानसिक रोगीको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । सन् २०१४ मा ७८ जना मानसिक रोगी देखिएकामा सन् २०१६ मा सो सङ्ख्या बढेर २१६ पुगेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लासँगको समन्वयमा बहुसांस्कृतिक मनोसामाजिक संस्थाले गरेको सर्वेक्षण अनुसार पछिल्लो समयमा मानसिक रोगीको सङ्ख्या बढ्दै गएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान डा अनुप मङ्गल समालले समाजमा कोहीसँग नखुल्ने, माया साट्न नसक्ने, सामाजिक रुपमा तिरस्कृत हुँदै जानुले मानसिक रोगीको सङ्ख्या बढेको हो । “यसबाट महिला र किशोरी बढी जोखिममा परेका छन्,” उहाँले भन्नुभयो ।
खासगरी २५–३० वर्ष उमेर समूहका युवायुवती मानसिक रोगबाट बढी प्रभावित छन् । “तन्नेरीले काम नगर्ने, नशा सेवन गर्ने, मादक पदार्थको प्रयोग जस्ता कुराले यसका रोगी बढेका हुन् । त्यसको प्रत्यक्ष असर महिलालाई पर्ने गरेको छ,” डा समालले भन्नुभयो ।
बेरोजगारी, गरिबी, चेतनाको कमीका कारण मानसिक रोगीको सङ्ख्या ह्वात्तै बढको उहाँको भनाइ छ । भौगोलिक विकटताका कारण समयमै मानसिक रोगी स्वास्थ्य सेवा लिनबाट वञ्चित रहँदै आएका छन् । मनोवैज्ञानिक विमर्शकर्ता नन्दराज आचार्य समाजमा बढ्दै गएको घरेलु तथा लैङ्गिक हिंसा, जातीय विभेद, लागुऔषध दुव्र्यसनी, दाइजो, जारीलगायत सामाजिक कुप्रथाका कारण मानसिक रोगीको सङ्ख्या बढेको बताउनुहुन्छ ।
मानसिक रोग चुलिँदै जाँदा अन्त्यमा आत्महत्या गर्ने र मानसिक रुपमा विचलित भएर हिँड्ने गरेका पाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गुरुविष्णु काफ्ले जिल्लामा बर्सेनि आत्महत्या गर्नेको सङ्ख्या बढ्दै गएको बताउनुहुन्छ । आव २०७०÷७१ मा आठ महिला र सात पुरुष, आव २०७१÷०७२ मा ६ पुरुष र दुई महिला, आव २०७२÷७३ मा पाँच महिला र तीन पुरुष तथा चालु आवको माघ अन्तिम सातासम्म पुरुष सात र तीन महिलाले आत्महत्या गरेका छन् । रासस

3820
Shares

ट्रेन्डिङ