सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • फास्ट ट्य्राकको संविधान फासफुस हुँदैछ

फास्ट ट्य्राकको संविधान फासफुस हुँदैछ

5620
Shares
फास्ट ट्य्राकको संविधान फासफुस हुँदैछ

राजन कार्की
फास्ट ट्य्राकबाट जारी गरिएको संविधान फासफुस हुँदैछ । जनताले, जनताका लागि, जनताद्वारा गरिने शासन नै प्रजातन्त्र हो । यो अव्राहम लिंकनको मान्यता थियो र आजसम्म पनि प्रजातन्त्रको मुटुको चाल यही वाक्यलाई मानिएको छ । प्रजातन्त्रको यही धमनी मान्यताका सम्बन्धमा सी स्मिथले प्रजातन्त्र अग्रगामी भइरहने पद्धति हो जसमा कोही पछाडि पर्दैन । प्रजातन्त्र प्रतिको प्रेम, समानता र विधिप्रतिको प्रेम भनेका थिए ।
हामी त्यही अपूर्व प्रजातन्त्रको अभ्यास गरिरहेका छौं र यही पद्धतिको राजमार्ग खनेर राष्ट्रिय विकास र जीवनमार्ग बनाउने प्रयत्न गरिरहेका छौं । यही उद्देश्य फलाफल पार्न ऐतिहासिक जनआन्दोलन र त्यही जनआन्दोलनका शक्तिलाई परिवर्तनका सामथ्र्य बनाएर लोकतान्त्रिक इतिहास लेख्दैछौं । तर, लेख्ने तौरतरिकामा न त अव्राहम लिंकनको विचारको अनुशरण देखिन्छ, न सी स्मिथको विश्वास नै भेटिन्छ ।
एकसे एक महारथीमध्येका व्यक्ति यतिखेर ७ महिनादेखि भीमसेन थापाको उत्तराधिकारको क्रममा प्रधानमन्त्री छन् । उनी अघिका शासकहरु जसरी अयोग्य र अफापशिद्ध भए, यिनको यो दोश्रो कार्यकाल पनि कलंकभन्दा भिन्न अध्यायको हुन सकेन । गौरव गर्न लायक प्रधानमन्त्रीको लङ्मा उभिने इच्छाशक्ति र जनप्रियता यिनले पनि देखाउन सकेनन् ।
जबर्जस्त फास्ट ट्य्राकबाट संविधान जारी गरियो र आलोपालो सरकार चलाउने ठूला नेताहरुले झैं यिनले पनि हतारिएर सत्तारोहण गरेका हुन् । यी यस्ता चमत्कारिक नेता हुन्, जो एउटै स्थितिलाई एकैपटक भिन्न भिन्न दृश्यमा देखाउन र व्याख्या गर्न सक्छन् । हिजो के बोलियो, त्यो विषयसँग यिनी मतलवै राख्दैनन् । दिनदिनै नयाँ दर्शन र दृष्टिकोण, बचन र बञ्चन यिनको राजनीतिक शास्त्र–विशेषता हो । यिनको चटके भ्रमबाट शासकपंक्ति र शासित बर्ग सबै चकित पर्छन् ।
२ महिनापछि यिनले अर्का नेतालाई आलोपालो सहमति अनुसार सत्ता सुम्पने छन् । नसुम्पे यिनले अर्कालाई सत्ताबाट खगारेर आफू उक्लेझैं, यिनलाई पनि पालोवालाले बिस्थापित गरेर आफू स्थापित हुनेछ । यो निरन्तरको राजनीतिक दलहरुको सत्ताचक्र ०६३ सालपछि यसैगरी घुमिरहेको । यो सत्ताचक्रमा अब्राहम लिंकनदेखि कुनै पनि दार्शनिकले स्थापित गरेका महत्व र मान्यता देखिदैनन् । यसकारण नेपालको परिवर्तन, अग्रगमन र लोकतन्त्र ‘हीराको मोल कीराले जान्दैन’ भन्ने लोकोक्तिजस्तो बन्न पुगेको छ ।
भनिन्छ, व्यापारीले कमाउन जानेन भने उसको व्यापार बर्बाद हुन्छ, राजनेताले कमाउन थाल्यो भने देशको हालत बर्बाद हुन्छ । नेपालको सन्दर्भमा यही भइरहेको छ । ब्यापारी र राजनेता छुट्याउन मुस्किल छ, व्यापारीभन्दा राजनेताहरु कमाउन थालेका छन् । नेताहरुले राजनीतिलाई व्यवसाय बनाएका छन् । नीतिहरुमा उत्तम नीति राजनीति व्यापार बनेपछि, देशको हालत यसरी अस्तव्यस्त बनेको छ कि राज्य संयन्त्रका सबै अंगप्रत्यंगहरुमा राजनीतिबाहेक केही देख्नै नसकिने भएको छ ।
नेपालको सन्दर्भमा खान नपाएर अकालले थोरै मर्छन्, राजनीतिक नेताहरुले खान नजानेर देशै मार्ने भए । नेताहरु ठान्छन् ः मौका यही हो, जसरी पनि सोहोर्नुपर्छ । सोहोर्ने क्रममा नेताहरुले अचार र आची पनि छुट्याउन सकेनन् ।
देश बिधिबिधान, संविधानले चल्ने हो । संविधानका धाराहरु पद्धतिका रक्तसञ्चार नलीहरु हुन् । नीति र पद्धतिलाई व्यवहारमा उतार्ने संवैधानिक निकायहरुले हो । जब सत्तामा आसिन नेताहरु नीति र पद्धतिलाई इसारामा चलाउन थाल्छन्, तव भन्नुपर्छ– देश चलाउने संविधानका धारा कि नेताको इसारा ?
नेताको इसारामा नियुक्त हुने व्यक्ति देशको व्यक्ति हुन्छ कि नेताको अरौटे ? नोटको बिटो उपहार दिएर नियुक्त हुने व्यक्तिले नियुक्ती पाएपछि लगानी उठाउने भरोटे बन्छ कि बिधिको मान राख्न तत्पर रहन्छ ? लाख दिनेले पदलाई दाख बनाएर खान्छ, करोड दिनेले पदलाई सुनखानी बनाउँछ ।
शासन हरिबिजोग अवस्थामा छ, संविधानको कन्तविजोग भइरहेछ । इसारालाई इलम, पद्धतिलाई यस्तै इलमको परम्परा बनाउँदा कानुन व्यवस्था दिनदिनै दयनीय बन्दै गएको छ । नेताहरु केही दिगो, केही भरपर्दो, केही देशभक्तिपूर्ण गतिलो काम गर्लान कि भनेर हेरिरहेका आमनागरिक हेरेको हे¥यै भइरहेका छन् । यिनको डाइरेक्शनको शासनमा नेपाली इन्टेन्सन पटक्कै मेल खाइरहेको छैन । लोकतन्त्र माछो माछो भ्यागुतो भइरहेको छ ।
लालनायक अथवा समाजवादी नायकहरु उही र उस्तै राजनीतिक पीतरङ्मा रङ्मङ्गिएको सबैको अनुभूति उस्तै उस्तै छ । समयचक्र घुमिरहेको छ, हाम्रा नेताहरु अव्राहम लिंकन सम्झदैनन्, लोकतन्त्रको आफ्नै व्याख्या गरिरहेका छन् र हरेक दिन राजनीतिलाई हाडबजार बनाएर सत्ताचक्रमा व्यवसाय चम्काइरहेका छन् ।
अव त अदालतका न्यायाधीशमात्र होइन, सुरक्षा निकायका आइजीपीहरुको नियुक्तीसमेत राजनीतिक व्यवसाय हुनगयो । महान्यायाधिवक्ता, गभर्नर, राजदूत, निर्वाचन–अख्तियार आयुक्तहरु, पियनदेखि सचिवसम्मको नियुक्ती नेताहरुको इसारामा हुँदै आएकोमा यतिखेर सत्ताचक्र जसरी योग्यता, क्षमता कुल्चने र लोकतन्त्रका गरिमा र महिमाहरुलाई मार्ने प्रपञ्च गरिरहेको छ, ती सबै परिदृश्यहरुले देशको जीवन, जाँगर, शक्ति, सर्वस्व नैराश्यतामा परिणत हुनपुगेको छ ।
समाजवादीहरु देश विकासको मन्त्र समाजवाद नै हो भन्छन् । संसदवादलाई बुर्जुवा भन्ने व्यक्ति सत्तामा गजधम्म बसेर गजब खालको बुर्जुवा बनेर देखाइरहेका छन् । सत्ता बाहिरका क्रान्तिकारीहरु मध्ये कोही माओको रातो किताव र माक्र्सका थोत्रा पुराना पोथ्रा पल्टाएर हुँदैन अव भन्दै नयाँ शक्ति सञ्चयमा लागेका छन्, कोही आमनागरिकलाई हकाधिकार बनाउने जनविद्रोहको अँगेनो फुक्दैछन् ।
समष्टिमा मुलुकको मुहार हेर्दा कहालीलाग्दो भीरमा उभिएको सातो गएको व्यक्तिको अनुहार देखिन्छ, राजनीतिक परिवर्तनको जुन उत्साह, उवाल र अपेक्षा थियो, ती सबै बिस्तारै पतनोन्मुख भइरहेका छन् ।
भन्नुको अर्थ प्रजातन्त्र त छ, तर यो प्रजातन्त्र नेताहरुको आपसी सहमति र आदेशमा चलिरहेको छ । नेतालाई मन परेका काम सबै भइरहेका छन् । जनताले चाहेको काम केही पनि हुनसकेनन् । यतिखेर नेपालको लोकतान्त्रिक पद्धतिमा देखिएको दृश्य भनेको भाग उनीहरुवीचको सत्ता भागबण्डा, दलीय लेनदेन र संवैधानिक र प्रशासनिक पदहरुको सुक्रीविक्री नै हो ।
छन्, प्रशासनदेखि सुरक्षा निकायसम्म काविल, क्षमतावान र इमानदारहरु छन् । तर नेताको इसारामा चल्तीफिर्ती, निर्णय, कार्यान्वयन भएपछि तिनहरुको इमान जमान, क्षमताले कहाँ काम गर्छ र ?
त्यसैले त संविधानका धारा होइन, नेताका इसाराले शासन गरिरहेको छ ।
नेतृत्व विकास नै हुनसकेन । आज नेता छन्, राजनेता छैनन् । राजनेता बन्न लायकहरु नयाँ राजघराना बन्न पुगेका छन् । ती न्याय, कानुन हेर्दैनन्, फर्मान जारी गर्छन् र आफ्नो स्वार्थ अनुकूलको फर्मानको पालना भए नभएकोमा राजनीतिक बखेडा झिक्छन् ।
देशमा बढेको असहमति, अस्थिरता, अराजकता र अनमेल स्वार्थ नमिल्दाको झगडा हो । संसदीय पद्धतिमा राष्ट्रिय मुद्धाहरुको निक्र्यौल संसदबाट गर्ने गरिन्छ । हाम्रो प्रजातन्त्रमा कहिले एउटा त कहिले अर्को नेताको अँध्यारो कोठामा निकास खोजिन्छ । यो लोकतन्त्र हाँक्नेहरुको असफलता र अक्षमता हो । संविधानका धाराभन्दा आफ्ना खोटा इसारा चलाउने तरिका हो ।
जनयुद्ध हाँक्ने योद्धा, जनआन्दोलन सफल पार्ने नेताहरु जनबलका दृष्टान्त थिए, १२ वर्षमै ती सबै दृष्टान्तहरु ओझेल भइसकेका छन् । अजेय नेताहरु पराजय बन्न पुगेका छन् । परिवर्तित लोकतान्त्रिक परिपाटी अव्यवस्थाका कारण बनेका छन् र यी कारणका कारक नेताहरु स्वयम् हुन् ।
नेताहरुकै कारण अखण्ड, अकन्टक देश खण्डिकरणको संशयमा पुग्यो । नेपालजस्तो सुसंस्कृत, प्रकृति, विधि र स्थिति रहेको विविधिकरणयुक्त समाजमा घुलिएर विधि र पद्धतिलाई सामाजिकीकरण बनाउनु पर्ने नेताहरु संविधान र विधिलाई खोरिया फाँडेझैं फाँडेर राजनीतिक मौजा निर्माणमा लाग्छन् भने इसारा र आदेशतन्त्रको जग बस्दै जानु स्वभाविक हो ।
प्रजातन्त्रको आत्मभंग गरेर नेताहरु कहाँ पुग्न खोजिरहेका छन् ? विज्ञ, विशेषज्ञहरुले टिप्पणी गर्छन्– धीर शमशेरका १७ भाइको रोलक्रम बसालेझैं यो त अर्को चरणका जहाँनियाँ शासन भएन र ?
शान्तिव्यवस्था र सुशासन मिच्ने प्रजातन्त्रमा ऐंजेरु बनेको अतिक्रमणकारी यस्तो इसारा शासनशैलीले नेपाल र नेपालीको शान्ति र समुन्नति कहिले आर्जन गर्ने ? त्यसकारण नेपाली जनताले यस्ता नेताहरुको भरपत्यार गर्न छाड्नुपर्छ, नभए यिनको गल्तीहरु सच्याउनसक्ने हिम्मत देखाउनुपर्छ । अन्यथा संविधानका धारा होइन, इसारा नै चलिरहनेछ ।

5620
Shares

ट्रेन्डिङ