सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • हामी २ अर्ब ३७ करोडको लुम्बिनी विकास बैंक बन्दै छौं

हामी २ अर्ब ३७ करोडको लुम्बिनी विकास बैंक बन्दै छौं

5690
Shares
हामी २ अर्ब ३७ करोडको लुम्बिनी विकास बैंक बन्दै छौं

भिवोर सोसाइटी बैंकको पछिल्लो वित्तिय अवस्था कस्तो छ ?
भिबोर सोसाइटी डेभलपमेण्ट बैंकको पछिल्लो वित्तीय अवस्था अत्यन्त उत्साहजनक छ र आगामी दिनमा यो अवस्थामा थप प्रगति हुने विश्वास छ । मर्जर पश्चात अर्थात करिब ४ महिनाको अवधिमा हाम्रो व्यवसायमा सरदरमा १२% को वृद्धि भएको छ ।
लामो मेहनत र दर्जनौ अफ्ठ्यारा पार गर्दै भिवोर बैंक र ज्ल्द्य बैक मर्जर गराउनु भयो अब तपाईको योजना कस्तो छ त ?
भिबोर विकास बैंक लि. तथा सोसाइटी डेभलपमेण्ट बैंक लि. एक आपसमा गाभ्ने÷गाभिने प्रक्रिया पुरा भै एकिकृत कारोबार गर्न आठ महिना भन्दा पनि बढी समय लाग्यो । त्यो अवधिमा निकै बाधा अड्चनहरु आइलागे, अप्ठ्याराहरु देखा परे ।
तर पनि हाम्रा दुवै सञ्चालक समितिको अथक प्रयास र हाम्रा शुभ चिन्तकहरुको शुभ कामनाले गर्दा अन्ततः हामी ढिलैै भए पनि मर्ज गराउन सफल भयौं । यो मर्जर त्यस अर्थमा मेरो लागि पनि निकै चुनौतिपूर्ण रह्यो । नेपाल राष्ट्र बैंकले यो प्रक्रियालाई सफल पार्न सहयोग गर्यो ।
समस्या तथा चुनौतिहरु कामका दौरान आई लाग्छन् तर धैर्यता पूर्वक, मेहनत साथ लागि रहेमा त्यसबाट पार पाउन सकिन्छ भन्ने यो एक पाठ भएको छ । अब पनि हाम्रो प्राथमिकता मर्जर नै हो ।
पूँजी बृद्धि गर्ने योजना अब मर्जर हो की बोनस सेयर र राइट शेयर कसरी अगाडी बढ्ने योजना छ ?
हालसालैको यो मर्जर पछि भिबोर सोसाइटी डेभलपमेण्ट बैंकको चुक्ता पूँजी रु.१ अरब ८१ करोड ५० लाख पुगेको छ ।
वि.सं. २०७४ आषाढ मसान्त सम्ममा राष्ट्रिय स्तरका विकास बैंकहरुको चुक्ता पूँजी रु. २ अरब ५० करोड पुर्र्यार्उनु पर्ने हुनाले यहि २०७३ साल माघ २४ गते लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कम्पनी लिमिटेडसँग मर्जर गर्न समझदारी पत्रमा हस्ताक्षर भै मर्जर प्रक्रिया अगाडि बढाउने क्रम शुरु गरी हाल हाम्रो संयुक्त निवेदन नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गर्ने चरणमा पुगेको छ ।
यो मर्जर पछि बैंकको चुक्ता पूँजी रु.२ अरब ३७ करोड पुग्नेछ । यो प्रक्रिया पुरा गरे पछि नपुग रु १३ करोड रुपियाँ यसै वर्षको खुद मुनाफाबाट बोनस शेयर मार्फत पुरा हुनेछ । यसै बीच थप संस्थाले मर्जरको लागि हामीसँग सहमति गर्न आएमा त्यो संस्थालाई समेत समेटेर अगाडि बढ्न सकिने विकल्प समेत खुला छ ।
तपाई र तपाईको बैंकले अन्र्तराष्ट्रिय स्तरको अवार्ड के कसरी पाएको बताइदिनुहोस न ?
संयुक्त अधिराज्य बेलायतको अक्सफोर्ड अवस्थित Europe Business Assembly बाट मलाई साबिक भिबोर विकास बैंक लि. को प्रमुख कार्यकारी अधिकृत हुँदा नै इमेल मार्फत यो अवार्डको लागि पत्र प्राप्त भएको थियो । त्यसबेला मैले त्यसलाई कुनै वास्ता गरिन ।
फेरी पनि दुई पटकसम्म त्यस्तै इमेल र पत्र आए पछि यो वर्ष मैले सञ्चालक समिति समक्ष प्रस्ताव राख्दा सो पारित भएपछि त्यो संस्थालाई पत्र लेखि उनीहरुको आवश्यकता अनुसारका कागजात पठाई गत डिसेम्बरमा Europe Business Assembly ले Oxford UK मा हाम्रो संस्थालाई Best Enterprises Award र मलाई Manager of the Year Award प्रदान गरेको हो ।
यसै गरी हाम्रो संस्थाको राम्रो व्यवस्थापनलाई मूल्याङ्कन गरी नेपाल व्यवस्थापन संघले मलाई सम्माननीय प्रधानमन्त्री ज्यूको हातबाट हालै Manager to Watch 2016 प्रदान गरेको छ । यसबाट पनि तपाईले हाम्रो बैंक व्यवस्थापन कस्तो छ भन्न सक्नुहुन्छ ।
भिवोर र HNB का पूराना बिग्रेका दर्जनौ कर्जा र फसेका पैसा उठाउने काम के भइरहेको छ ?
साविक भिबोर विकास बैंकको सबै जसो कर्जा असुली लगभग पुरा भएको छ । उठ्न नसकेको कर्जाको धितो लिलाम गर्ने, लिलाम हुन नसकेमा बैंकले आफै सकारी गैह्र बैंकिङ्ग सम्पत्तिमा राख्ने, ऋणीलाई कालो सूचीमा राख्ने र नपुग रकमको लागि कानूनी प्रक्रिया अबलम्बन गरी ऋण असुली न्यायाधिकरणमा मुद्धा दर्ता गर्ने कार्य पुरा भएको छ । यसरी असुली गर्नु पर्ने बाँकी रकम अब धेरै ठूलो छैन । त्यस्तै साविक सोसाइटी डेभलपमेण्ट बैंक लि. को मूल समस्या पनि धेरै हदसम्म समाधान भै सकेको छ ।
भिवोर सोसाइटी बैंकलाई देशकै महत्वपूर्ण विकास बैंक बनाउने तपाईको योजनाहरु के के छन् त ?
भिबोर सोसाइटी डेभलपमेण्ट बैंक राष्ट्रिय स्तरको विकास बैंक हो चुक्ता पूँजीका दृष्टिकोणले यो नेपालका विकास बैंकहरु मध्ये दोस्रो ठूलो विकास बैंक हो, शाखा सञ्जालका हिसाबले हाम्रो बैंक सबै भन्दा ठूलो रहेको छ । यसलाई विकास बैंककै रुपमा सञ्चालन गरी लगानीकर्तालाई प्रतिफल, जनतालाई गुण स्तरीय सेवा र कर्मचारीहरुलाई राम्रो तलब भत्ता सुविधा दिने यो बैंकको सोच छ ।
त्यसको लागि बैंकिङ्ग सेवामा विविधीकरण, विशिष्टीकरण, सरलीकरण गर्दै सहायक कम्पनीहरु मार्फत समेत थप आम्दानी गर्ने बैंकको लक्ष्य छ । त्यसै गरी आफ्नै रेमिट्यान्स सेवा, आफ्नै बिमा कम्पनी, आफ्नै लघुवित्त कम्पनी र आफ्नै मर्चेण्ट बैंक मार्फत सेवाको व्यापकता र आम्दानीको विस्तारीकरण गर्ने बैंकको योजना रहेको छ ।
प्रसड्ड बदलौ, अहिले बजारमा नोट अभाव (तरलता) रहेको भनिन्छ नि के कुरा सत्य हो ?
हाल नेपालको वित्तीय बजारमा देखिएको समस्या तरलताको (Liquidty Crunch) होइन यो त कर्जा वृद्धिको अनुपातमा निक्षेप वृद्धि नहुँदा आएको कर्जाको (Credit Crunch) समस्या हो । निक्षेप + प्रारम्भिक पूँजीका अनुपातमा कर्जाको ठूलो वृद्धि भै आएको समस्या हो ।
यो विषय अलि गम्भिर छ । बैंक तथा वित्तीय संस्थाहरुले चुक्ता पूँजी वृद्धि गर्नको लागि जब हकप्रद शेयर जारी गर्ने नीति लिए, ती संस्थाका शेयरधनीहरु खुशी भए । किनकी बजारमा रु. ६/७ सय रुपैँया मूल्य भएको शेयर हकप्रद मार्फत लिँदा रु १०० मा पाइने भयो ।
जसले गर्दा कमसेकम ४÷५ सय मुनाफा हुने भयो । तर हामीले के सोचेनौ भने त्यो हकप्रद शेयरमा राख्ने पैसा कहाँबाट आउँछ ? या त त्यो पैसा निक्षेपबाट जानु पर्यो, या त कर्जा लिनु पर्यो । जब शेयरहोल्डरले कुनै न कुनै प्रकारको कर्जा लिई हकप्रद शेयरमा हाल्न थाले अनुत्पादक कर्जा बढ्न लाग्यो ।
त्यसरी चाहे निक्षेपबाट गएको होस या कर्जा मार्फत, त्यो पैसा एकाएक अब निक्षेपमा आएन बरु चुक्ता पूँजीको रुपमा बैंकहरुसँग रह्यो । यसरी हामीले नसोचेको कर्जा बढ्यो, निक्षेप घट्यो, कर्जा र निक्षेपको सन्तुलन बिग्रियो र हामीले नसोचेको समस्या आयो ।
अब जारी हुने हकप्रद वा एफपिओमा पैसा कहाँबाट आउँछ । त्यसको अन्दाज अझै पनि छैन, हामी सहजै भन्दछौ हकप्रद जारी गरेर चुक्ता पूँजी पुर्याउँछौं । अहिलेको बजारको समस्या संक्षेपमा भन्नुपर्दा यहि हो ।
एटिएम कार्ड, चोरी काण्ड बढेको छ । यसको सुरक्षाको लागि के गर्नु पर्ला ?
ए. टि. एम र डेबिट कार्ड मार्फत हुने चोरी र ठगी मूलतः आधुनिक प्रविधिसँग सम्बन्धित छ । हामीले यो समस्यालाई गम्भिर रुपमा लिएका छौं । नेपाल राष्ट्र बैंकले यस सम्बन्धमा हालै सर्कुलर मार्फत समयावधि तोकेरै निर्देशन जारी गरेको छ ।
सो निर्देशन अनुशार यस्ता चोरी र बद्मासी रोक्न डेविट कार्ड तथा ए.टि.एम. चिप्स वेसको बनाउने उल्लेख छ । आगामी २०७४ पौष सम्ममा प्रविधिमा हामीले ठूलो लगानी गर्नु पर्ने देखिन्छ । नेपाल राष्ट्र बैंकको यस निर्देशनले यसको रोकथाममा महत्वपूर्ण भूमिका खेल्नेछ ।
फेरि प्रसड्ड बदलौ, राष्ट्र निर्माणमा बैंक र बैंकरको भूमिका कस्तो रहनु पर्ला ?
देशको आर्थिक विकासमा बैंकको महत्वपूर्ण भूमिका रहन्छ । आर्थिक विकासका आयोजनाहरु, कलकारखाना स्थापना र संचालन, व्यापार व्यवसाय, आयात निर्यात इत्यादिमा वित्तिय साधन बैंकले प्रदान गर्दछ । कहिले वित्तिय श्रोत जुटाइदिन्छ भने कहिले मध्यस्तकर्ताको भूमिका निर्वाह गर्दछ । बैंक विनाको आर्थिक विकास संभव छैन । बैंक र बैंकरले देशले अगाडि सारेका विकास निर्माणमा वित्तिय श्रोत जुटाई सहयोग पु¥याउँछ । तसर्थ यो भूमिका अत्यन्त महत्वपूर्ण छ ।
बैंकहरु नाफामुखी रहेको समाजिक उत्तरदायित्वमा नआएको गुनासो जनतामा छ नि ?
पहिले आफू बाँचे पछि मात्र अरुलाई बचाउन सकिन्छ भन्ने सिद्धान्तमा आधारित भएर बैंकले आफ्नो व्यवसाय संचालन गर्न जरुरी छ आफै स्वस्थ नभै बैंकले सामाजिक दायित्व निर्वाह गर्न सक्दैन । प्रथमतः प्रष्ट हौऔं बैंकहरु मुनाफाको लागि स्थापित संस्थाहरु हुन् ।
लगानीकर्तालाई प्रतिफल दिनु बैंकको पहिलो उत्तरदायित्व हो । कर्मचारीहरुलाई समय सापेक्ष तलव, भत्ता र सुविधा तथा तालिम दिनु पनि बैंकको दायित्व भित्रै पर्छ । त्यस्तै प्रविधिमा लगानी गरी ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नु पनि बैंकहरुको प्राथमिकता बाहिरको विषय होइन ।
यसपछि खुद मुनाफाको १% संस्थागत सामाजिक उत्तरदायित्वको लागि छुट्टयाउनु पर्ने व्यवस्था हाल सालैको नेपाल राष्ट्र बैंकको निर्देशनले गरेको छ । बैंकको सामाजिक उत्तरदायित्वलाई बैंकले समाजमा गरेको समग्र योगदानबाट हेर्नुपर्ने हुन्छ ।
बैंक सेवामुखी संस्था कि नाफामुखी प्रस्ट भनिदिनुहोस न ?
बैंक नाफामुखी संस्था भएता पनि उसले समाजमा गरेको योगदानलाई हेरेमा सेवामुखी पनि हो भन्न सकिन्छ । भूकम्प पिडितलाई राहत वितरण, सरकारी तथा गैह्र–सरकारी निकायबाट प्रदान गर्ने भनिएको भूकम्प पिडितका लागि आवास अनुदानको रकम वितरण र सामाजिक सुरक्षा भत्ता वितरणमा बैंकले गाउँगाउँमा पुगि गरेको काम प्रत्यक्ष सेवामुखि कार्य हो । त्यसै गरी बैंक तथा बैंकका कर्मचारीले आयकर मार्फत सरकारी राजश्वमा गरेको योगदान वास्तवमै ठूलो छ । अब तपाई नै भन्नोस बंैक के मुखी हो ?
बैंकिड्ड क्षेत्रका चुनौती के कस्ता छन् ?
बैकिङ्ग क्षेत्रका चुनौतिहरु तपाईको अगाडि छर्लङ्ग छन् । कहिले निक्षेपको चुनौति हुन्छ त कहिले गुणस्तरीय कर्जाको माग नहुने समस्या । त्यस्तै कहिले देशको आधुनिक प्रविधि प्रदायक संस्थाको अपर्याप्तता/सिमितता, कहिले गुणस्तरीय जनशक्तिको अभाव त, कहिले एकाएक देशमा आइपर्ने प्राकृतिक प्रकोप, नाकाबन्दी, हड्ताल, आर्थिक मन्दि आदि आदि ।
अहिलेको मुख्य चुनौति भनेको उत्पादनशिल क्षेत्रमा लगानी गर्न कर्जा योग्य रकम अर्थात निक्षेप संकलन हो । सरकारी विकास बजेट यथेष्ट मात्रामा खर्च हुन नसक्नु, पूँजी वृद्धिको प्रयोजनको लागि निक्षेप तथा कर्जा मार्फत हकप्रद शेयर र एफपिओमा ठूलो रकम गै कर्जा बढ्नु, निक्षेप घट्नु, यो आजको समस्याका जड हुन ।
यी समस्या समाधानका लागि अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह रोक्नु राम्रो पक्ष भएता पनि उत्पादनशिल क्षेत्रमा ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने क्रमश २०%, १५% र १०% कर्जाको लागि रकम अभाव छ । अहिले बजेट अभावमा नेपाल राष्ट्र बैंकले पुनरकर्जा पर्याप्त मात्रामा दिन सकेको छैन। नेपाल राष्ट्र बैंकले छुट्याएको करीब ११ अरबको पुनरकर्जा बजेट सकिए पछि हाल पुनरकर्जा बन्द भएको छ ।
यसमा सरकारले नेपाल राष्ट्र बैंकलाई पुनरकर्जाको लागि थप बजेट दिई उत्पादनशिल क्षेत्रमा लगानी गर्न सहयोग गर्नु पर्ने हुन्छ । सरकारले नेपाल राष्ट्र बैंकबाट विगतको मुनाफा बापत प्राप्त गर्ने ६÷७ अरब रुपैयाँ जुन हाल नेपाल राष्ट्र बैंक सँग मौज्दात छ सो रकम पुनरकर्जाको लागि केहि समय अवधिको लागि दिन सक्दछ ।
अर्को उपाय भनेको सरकारले राष्ट्रिय पुनर्निमाण प्राधिकरण मार्फत छुट्याएको रकम पहिले नै खाता खोली पहिलो चरणको रु ५०,०००/– वितरण गरी सकेका बैंक तथा वित्तीय संस्थाहरुलाई एकमुष्ठ दिन सक्छ । यो रकममा लाभग्राहिको खातामा रकम नगए सम्मको अवधिको लागि सरल ब्याज समेत सरकारले बैंक तथा वित्तिय संस्थाबाट लिन सक्छ, जसले गर्दा प्राधिकरणको आम्दानी पनि बढ्न सक्छ ।
त्यस्तै पहिलो चरणको रकम लाभग्राहिलाई वितरण गरेका बैंक तथा वित्तीय संस्थाहरुलाई सम्झौता बमोजिमको सेवा शुल्क पनि समयमै उपलब्ध गराई बैंकहरुलाई प्रोत्साहित गर्न पनि जरुरी छ ।
नेपाल राष्ट्र बैंकले के कस्ता कुरामा ध्यान दिई निर्देशन गर्नु जरुरी होला ?
नेपाल राष्ट्र बैंकले अगाडि सारेका नीतिहरु, दिएका निर्देशनहरु सहि छन् समय सापेक्ष छन् । चुक्ता पूँजी वृद्धि तथा उत्पादनशिल क्षेत्रमा लगानी यी केहि उदाहरणहरु हुन् ।
यति हुँदा हुँदै पनि पूँजी वृद्धि गर्दा लिइने नीतिबाट बैंकिङ्ग क्षेत्रमा पर्ने असरहरुबारे नेपाल राष्ट्र बैंकले ध्यान पु¥याउनु पर्ने देखिन्छ । हकप्रद शेयर जारी गर्दा सर्व–साधारणले उपभोग गर्ने कर्जा त्यसमा उपयोग भयो कि भन्ने प्रश्न पनि उठेको छ ।
निक्षेपबाट हकप्रद शेयरमा लगानी गरेको असर त स्वभाविकै रुपमा लिन सकिन्छ तर कर्जा लिई लगानी गरेको लाई कसरी लिने भन्ने हो । त्यसै गरी अब नेपाल राष्ट्र बैंकले उत्पादनशिल क्षेत्रमा कर्जा बढाउन पूनकर्जा दिने व्यवस्था मिलाउन थप बजेटको आवश्यकता सम्बन्धी विषय सरकार समक्ष राख्नु पर्दछ भन्ने म ठान्दछु ।
तपाई पुरानो बैंकर मलाई भनिदिनुसः– बैंकहरु किन सहरमुखी मात्र भएका होलान् ?
तपाईले कहिलेको कुरा गर्नु भयो ? अहिले त बैंकहरु धमाधम गाउँ पस्दै छन् । भिबोर सोसाइटी डेभलपमेण्ट बैंकको नै कुरा गर्ने हो भने पनि हाम्रा शाखाहरु कहाँ कहाँ खुलेका छन् हेरेर थाहा पाउन सक्नुहुन्छ । पर्वतको पातिचौर देखि रसुवाको कालिकास्थान, मोरङ्गको रंगेली देखि पर्साको पोखरिया यी केहि उदाहरण हुन् ।
हाम्रा हाल सम्मका कुल ४५ शाखा मध्ये ३४ वटा शाखा काठमाण्डौं उपत्यका बाहिर छन् । हाम्रा ७ वटा शाखा अन्य कुनै बैंक तथा वित्तिय संस्था नै नभएको स्थानमा संचालित छन् । अबको हाम्रो जस्तो बैंकिङ्ग गाउँ केन्द्रित नभै सुखै छैन ।
६० प्रतिशत जनताले बैंक र वित्तिय संस्थाको पहुँच कहिले पाउलान ?
भूकम्प पिडीतको आवास पुननिर्माणमा र सामाजिक सुरक्षा भत्ता वितरणमा सरकारले लिएको नीतिका कारण पनि वित्तिय संस्थामा ग्रामीण जनसंख्याको पहुँच पुर्याउन राम्रो बल मिलेको छ । आशा गरौं गाउँ–गाउँमा बैंकिङ्ग साक्षरता कार्यक्रम, शाखा विस्तार र सामाजिक सुरक्षा भत्ता वितरण जस्ता कार्यक्रमले छिट्टै वाँकी जनसंख्यामा पनि बैंकिङ्ग पुर्याउन संभव हुनेछ ।

5690
Shares

ट्रेन्डिङ