सबैको समाचार
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • सानोठिमी क्याम्पसमा आगजनी

सानोठिमी क्याम्पसमा आगजनी

2825
Shares
सानोठिमी क्याम्पसमा आगजनी

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको सङ्घारमा भक्तपुरस्थित सानोठिमी क्याम्पस तनावग्रस्त बनेको छ ।
गए राति क्याम्पस प्रमुख रामचन्द्र घिमिरेको कार्यकक्षमा आगजनी भएको थियो । सानोठिमी क्याम्पसमा अखिल क्रान्तिकारी ‘प्रचण्ड’ र नेविसङ्घले संयुक्त तथा एमाले निकट अनेरास्ववियु र अखिल क्रान्तिकारी (विप्लव) पक्षले संयुक्त समूह बनाएर उम्मेदवारी दिएका छन् ।
अखिल क्रान्तिकारी ‘प्रचण्ड’ का महासचिव एवम् सानोठिमी क्याम्पसका निवर्तमान स्ववियु सभापति वीरेन्द्र बस्नेतले अनेरास्ववियु र विप्लव निकट क्रान्तिकारीले आफ्नो समूह हार्ने डरले क्याम्पस प्रमुखको कार्यकक्षमा आगजनी गरेको आरोप लगाउनुभयो ।
यता अनेरास्ववियु र अखिल क्रान्तिकारी (विप्लव) पक्षले आजै पत्रकार सम्मेलन गरेर आरोपको खण्डन गरी आगजनीबारे निष्पक्ष छानबिनको माग गरेका छन् ।
पत्रकार सम्मेलनमा अनेरास्ववियुका केन्द्रीय सदस्य श्यामसुन्दर बस्नेतले सानोठिमी क्याम्पसका निवर्तमान स्ववियु सभापति वीरेन्द्र बस्नेतको समूहले आगजनी गरेको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो–“रातभरि हाम्रो प्यानललाई क्याम्पसमा छिर्न दिइएको छैन, सरकार पक्ष क्रान्तिकारीका साथी क्याम्पसभित्र बसेको छ, चारैतिर प्रहरी तैनाथ भएकै बेलामा आगजनी भएको छ, प्रहरीले आगजनी गर्नेलाई पक्राउ नगरी मूकदर्शक भएको छ ।”
अनेरास्ववियु र अखिल क्रान्तिकारी (विप्लव) पक्षलाई बदनाम गर्ने उद्देश्यले आगजनी भएको बताउँदै उहाँले घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गरेपछि मात्रै निर्वाचन प्रक्रिया अगाडि बढाउनुपर्ने माग राख्नुभयो ।
अखिल क्रान्तिकारी (विप्लव) समूहका केन्द्रीय सदस्य एकराज डाँगीले भक्तपुरका प्रहरी प्रमुख किरण राणाको नेतृत्वमा क्याम्पसमा खटिएको टोलीले अनेरास्ववियु र अखिल क्रान्तिकारी (विप्लव) पक्षलाई क्याम्पसभित्र छिर्न समेत नदिएको आरोप लगाउनुभयो ।
क्याम्पस प्रमुख घिमिरेले भने निर्वाचन नरोकिने बताउनुभयो । क्याम्पसमा कुनै पनि बेला दुईपक्ष विद्यार्थीबीच झडप हुनसक्ने भएपछि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । रासस

2825
Shares

ट्रेन्डिङ