काठमाडौं । विगत १२ घण्टाको अवधिमा देशभर वर्षा भएको छ ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भएको छ ।
मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा समेत भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
काठमाडौंमा रातभर वर्षा भए पनि आज बिहानैदेखि घाम लागेको छ । विभागका अनुसार काठमाडौंको धाप ड्याममा सबैभन्दा धेरै १०७ मिलिमिटर वर्षा भएको छ ।
सिन्धुलीको कमला नदीमा पनि बाढी घट्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
विभागले कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना कायमै रहेकाले ती क्षेत्रमा हुनसक्ने क्षतिबाट जोगिन सतर्कता अपनाउन अनुरोध गरेको छ ।