काभ्रे :- गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत बेथानचोक गाउँपालिका लघु उद्यम विकास शाखाको आयोजनामा निःशुल्क १० दिने बारिस्टा तालिम सञ्चालन गरिएको छ। युवालाई सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउने उद्देश्यले आयोजना गरिएको उक्त तालिम इनोभेटिभ हस्पिटालिटी म्यानेजमेन्ट ट्रेनिङ सेन्टर, बनेपाको समन्वयमा पालिका भवनबाट नै सञ्चालन गरिएको हो।
हस्पिटालिटी तथा सेवा क्षेत्रमा बढ्दो रोजगारी सम्भावनालाई मध्यनजर गर्दै आयोजना गरिएको यस तालिममार्फत सहभागीहरूलाई व्यावहारिक ज्ञान र सीप प्रदान गरिने आयोजकको विश्वास रहेको छ। तालिममा कफी बनाउने कला, बारिस्टा सम्बन्धी आधारभूत तथा उन्नत सीप, ग्राहक सेवा, स्वच्छता तथा पेशागत आचरण बारे प्रशिक्षण दिइने जनाइएको छ।
तालिमको औपचारिक उद्घाटन बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रवक्ता तथा वडा नं. १ का वडा अध्यक्ष मधुसूदन तिमल्सिना, वडा नं. ४ का वडा अध्यक्ष कृष्णबहादुर लामा, हस्पिटालिटी क्षेत्रका प्रबन्धक कामदेव शाह ठकुरी, प्रमुख प्रशिक्षक नारायण लामा लगायत सरोकारवाला व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष भगवान अधिकारीले युवालाई सीप प्रदान गरी आत्मनिर्भर बनाउने लक्ष्यका साथ गाउँपालिकाले विभिन्न सीपमूलक तालिमहरूलाई निरन्तरता दिइरहेको बताउनुभयो। उहाँले भन्नुभयो, “सीपमूलक तालिमले गरिबी निवारणमा सहयोग पुर्याउनुका साथै स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न ठोस योगदान पुर्याउँछ।” अध्यक्ष अधिकारीले तालिमपछि सिकेको सीपलाई व्यवहारमा उतार्न गाउँपालिकाले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
त्यस्तै, गाउँपालिकाका प्रवक्ता तथा वडा नं. १ का वडा अध्यक्ष मधुसूदन तिमल्सिनाले सीप, उद्यम र रोजगारीलाई आपसमा जोडेर मात्र आर्थिक समृद्धि सम्भव हुने बताउनुभयो। उहाँले भन्नुभयो, “तालिम लिएर मात्र सीमित नहुने, तालिमपछि सहभागीहरूलाई व्यवसाय सञ्चालन वा रोजगारीमा जोड्न स्थानीय तहको भूमिका अझ प्रभावकारी हुनुपर्छ।”

यसैगरी, वडा नं. ४ का वडा अध्यक्ष कृष्णबहादुर लामाले युवालाई लक्षित गरी सञ्चालन गरिएका यस्ता कार्यक्रमले गाउँमै रोजगारीको वातावरण सिर्जना गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “सीप सिकेपछि युवाहरू रोजगारीका लागि बाहिरिनु पर्दैन, गाउँमै अवसर सिर्जना गरेर आत्मनिर्भर बन्न सक्छन्।”
कार्यक्रमका प्रमुख प्रशिक्षक नारायण लामाले तालिम पूर्ण रूपमा व्यवहारिक, सीपमुखी र रोजगारी केन्द्रित हुने जानकारी दिनुभयो। उहाँका अनुसार, “तालिमबाट सिकिएको सीप होटल, क्याफे तथा स्वरोजगारमा तुरुन्त प्रयोग गर्न सकिने गरी प्रशिक्षण दिइनेछ, जसले सहभागीहरूलाई छिटो रोजगारीमा जोड्न मद्दत पुर्याउँछ।”
तालिममा प्रशिक्षक मिनु शाहले सहजीकरण गरिरहनुभएको छ भने कार्यक्रमको सञ्चालन बेथानचोक गाउँपालिका लघु उद्यम विकास शाखाकी अम्बिका खरेलले गर्नुभएको थियो।
१० दिने यस बारिस्टा तालिमले सहभागीहरूलाई व्यावसायिक रूपमा दक्ष बनाउँदै स्वरोजगार तथा रोजगारीतर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ। आयोजकका अनुसार, तालिम सफलतापूर्वक सम्पन्न भएपछि सहभागीहरूलाई हस्पिटालिटी क्षेत्रमा रोजगारी खोज्न तथा आफ्नै व्यवसाय सुरु गर्न थप सहज हुने विश्वास लिइएको छ।