सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • ‘इम्बोस्ड नम्बर’ प्लेट भोलिदेखि

‘इम्बोस्ड नम्बर’ प्लेट भोलिदेखि

3635
Shares
‘इम्बोस्ड नम्बर’ प्लेट भोलिदेखि

काठमाडौं, ४ भदौं । सरकारले सोमबारदेखि सवारीसाधनमा उच्च प्रविधिको ‘इम्बोस्ड’ नम्बर प्लेट जडान गर्ने भएको छ । इम्बोस्ड नम्बर प्लेट जडानपछि सवारीसाधनको सम्पूर्ण अवस्था एकै स्थानबाट जानकारी लिन सकिनेछ । सवारीसाधन प्रयोगकर्ता, गन्तव्य, सवारीधनी सवारी विवरणलगायत सम्पूर्ण जानकारी प्राप्त गर्न सहज हुने भएकाले इम्बोस्ड प्लेट जडान गर्न लागिएको हो ।

यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीले यसको सहजै जानकारी लिन सक्नेछन् । नम्बर प्लेट जडान भएपछि सवारीसाधनले तिर्नुपर्ने कर दाखिला गरे नगरेको थाहा हुने र चोरीका सवारीसाधन प्रयोग अन्त्य हुने सरकारको दाबी छ ।

अाजको अन्नपूर्ण पोस्टमा खबर छ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले औपचारिक रूपमा सुरु गर्नेछन् । नम्बर प्लेट उद्घाटन भएको तीन दिनपछि प्रक्रिया पूरा गरी यातायात कार्यालयले पहिलो इम्बोस्ड नम्बर प्लेट विभागका महानिर्देशकको गाडीमा जडान गर्नेछ । विभागलाई इम्बोस्ड नम्बर प्लेट जडान सुरु गर्न कम्पनी छनोट गर्न १६ महिना लागेको थियो । विभागले २०७३ वैशाखमा बंगलादेश र अमेरिकाको संयुक्त कम्पनी डेकाटुर टाइगरसँग पाँच वर्षभित्र २५ लाख सवारीमा उच्च प्रविधिको नम्बर प्लेट जडान गर्ने सम्झौता गरेको थियो ।

कुल ३८.७५० मिलियन अमेरिकी डलरका नम्बर प्लेट जडानका लागि कम्पनी सहमत भएको थियो । अब डेकाटुर कम्पनीले करिब साढे तीन वर्षभित्र २५ लाख सवारी नम्बर प्लेट बनाउनु पर्नेछ । पहिलो चरणमा बागमती अञ्चल यातायात कार्यालयमा दर्ता भएका सरकारी र निजी चारपांग्रे सवारीसाधनमा नम्बर जडान गरिनेछ । त्यसको तीन महिनापछि बागमती अञ्चल कार्यालयमा दर्ता भएका मोटरसाइकलमा सुरु हुने विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए । त्यसपछि क्रमशः उपत्यकाबाहिर र सबै प्रकारका सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान सुरु हुनेछ ।

लागत कति
इम्बोस्ड नम्बर प्लेट जडानलाई चार तहमा वर्गीकरण गरिएको छ । नम्बर प्लेट जडान गर्न मोटरसाइकलका लागि २५ सय र तीन पांग्रे सवारीका लागि २९ सय रुपैयाँ तोकिएको छ । यसैगरी चारपांग्रे सवारीका लागि ३२ सय र हेभी सवारीको हकमा ३६ सय रुपैयाँ तय भएको छ । सवारीधनीले राष्ट्रिय वाणिज्य बैंकको खातामा दाखिल गर्नुपर्छ । एक पटक नम्बर प्लेट जडान भएपछि सवारीसाधन दुर्घटना भएको अवस्थाबाहेक अन्य सयमा फेर्न नपर्ने हुँदा उपभोक्तालाई सस्तो पर्छ ।

यसरी गरौं जडान
सवारीधनीले इम्बोस्ट नम्बर प्लेट जडानका लागि घरबाटै अनलाइन विवरण भर्न सक्नेछन् । उपभोक्ताले अनलाइनमा विभागले उपलब्ध गराएको फारममा आफूले प्रयोग गरेको सवारी र आफ्नो विवरण भर्नुपर्ने हुन्छ । विवरण पेस गर्दा राष्ट्रिय वाणिज्य बैंकमा तिरेको शुल्कको भौचर नम्बरसमेत राख्नुपर्छ । सवारीधनीको विवरण विभागले इम्बोस्ड नम्बर उत्पादक डेकाटुर टाइगर पठाउनेछ । विभागबाट आएको विवरणअनुसार नम्बर प्लेटमा रहेको आरएफआईडी चिप्ससहितको स्टिकरमा सम्पूर्ण विवरण राखेर कम्पनीले विभागमा पठाउनेछ । त्यसपछि विभागले सम्बन्धित यातायात कार्यालयमा नम्बर प्लेट पठाउनेछ । कार्यालयले सवारीधनीलाई एसएमएस पठाएर नम्बर जडान गर्न बोलाउँछ । यसका कारण उपभोक्तालाई पनि कुनै दोहोरो झन्झट नहुने भट्टराईको भनाइ छ ।

के हो इम्बोस्ड नम्बर ?
इम्बोस्ड नम्बर एक प्रकारको डिजिडल नम्बर प्लेट हो । यातायात व्यवस्था विभागले उच्च प्रविधिको नम्बर प्लेट भनेर परिभाषा गरेको छ । मोटरसाइकलको पछाडि र अन्य सवारीको अगाडि सिसामा नम्बर प्लेट ‘सिंगल स्क्रोल लक’ प्रणालीमा जडान हुन्छ । यसलाई कसैले पनि निकाल्न सक्दैन । नम्बर प्लेटमा एउटा चिप्ससहितको स्टिकर हुन्छ । स्टिकरलाई आरएफआईडी भनिन्छ । आरएफआईडी भनेको ‘रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन’ हो । सोही स्टिकरमा विभागले सवारीधनीको विवरणसहित साधन कहाँ बनेको, इन्जिन नम्बर, सवारीले कर तिरेको मिति, ठाउँलगायत विवरण राखेको हुन्छ ।

१० ठाउँमा आरएफआईडी स्टेसन
सवारीसाधनमा प्रयोग हुने इम्बोस्ड नम्बर प्लेट कार्यान्यवनका लागि आरएफआईडी स्टेसन आवश्यक पर्छ । स्टेसनले सवारीसाधनमा प्रयोग भएको ‘आरएफआईडी’ रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन स्टिकरलाई ट्र्याक गर्छ । स्टेसनमा ट्र्याक भएको सवारीसाधनको नम्बर प्लेट विभाग र ट्राफिक प्रहरी महाशाखाले आफ्नै कार्यकक्षका बसेर सवारीसाधनको विवरण हेर्न सक्छ । सोही आधारमा कुन सवारी कहाँ प्रवेश गरेको हो । कसको सवारी हो र यसले सवारी राजस्व तिरेको छ÷छैन सहजै थाहा पाउन सकिन्छ । विभागले उपत्यका छिर्ने प्रमुख पाँच नाकाका लागि ठाउँसमेत यकिन गरेको छ । निर्माण कम्पनीले सामान पनि ल्याइसकेको छ । नम्बर प्लेट जडान सुरु भएसँगै गेट बन्ने उनको भनाइ छ । उपत्यका छिर्ने नागढुंगा, फर्पिङ, जोरपाटी, जगाती र नागार्जुनमा गेट बनेछ । यसैगरी उपत्यकाबाहिर बुटवल, इटहरी, पथलैया, अतरिया र कोहोलपुरका गेट बनाउने भनिए पनि स्थान तय भइसकेको छैन ।

फाइदा के ?
सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान भएपछि कुन सवारी कुन ठाउँमा गइरहेको छ । कहाँबाट कुन सवारी उपत्यका छिरेको छ । कसले प्रयोग गरिरहेको छ । कसको सवारी हो सबै विवरण विभागका कर्मचारी तथा ट्राफिक प्रहरीले सहजै थाहा पाउन सक्नेछन् । यो नम्बर प्लेट जडान भएपछि सवारीसाधनले राज्यलाई तिर्नुपर्ने कर दाखिला गरे÷नगरेको थाहा हुने र चोरीका सवारीसाधन प्रयोग अन्त्य हुने भट्टराईको भनाइ छ । यसका कारण वर्षौंसम्म राज्यलाई सवारी कर नतिर्ने सवारीधनी पनि करको दायरामा आउने उनको विश्वास छ । सवारी प्रयोग गरी हुने आपराधिक घटना शूल्य हुनेछ । सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट प्रयोग गरिसकेपछि पुनः पाँचदेखि १० वर्षसम्म परिवर्तन गर्नु नपर्ने र परिवर्तन गर्न परे प्लेट कसेको लक नै काट्नु पर्ने अवस्था आउँछ’, उनले भने, ‘सवारीसाधन दुर्घटनामा परेर टुटफुट भए मात्र प्लेट परिर्वतन गर्नुपर्ने हुन्छ ।’

3635
Shares

ट्रेन्डिङ