सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • काभ्रेको सिपालीमा नेकपाको विद्रोह भएकै हो ?

काभ्रेको सिपालीमा नेकपाको विद्रोह भएकै हो ?

6075
Shares
काभ्रेको सिपालीमा नेकपाको विद्रोह भएकै हो ?

काभ्रे, १८ साउनः सिपालीमा अगुवा भेलाका लागि पुगेकाहरुले शनिबार दिउँसो सामाजिक सञ्जालमा फोटो सार्वजनिक गरेपछि जिल्लामा टिकाटिप्पणी शुरु भएको छ । भेलाका केहि फोटो हेर्दा साच्चैको संगठन विस्तारको झल्को दिन्छ । एउटा पुरानो घरभित्र केहि कार्यकर्ताहरु भेला भएको फोटोमा स्पष्ट देख्न सकिन्छ ।

रोशी गाउँपालिका वडा नम्बर ६ मा पर्ने सिपाली गएको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले जितेको वडा हो । सामाजिक सञ्जालमा राखिएको फोटो झट्टा हेर्दा राम्रै नै लाग्छ । दुई वर्ष भइसक्यो संगठनका कुनै पनि गतिविधि नभएको । तर फोटोभित्र भने अनेक कहानी लुगेको छ ।

अगुवा भेलाका लागि सिपालीमा जगत शाह, हरिकुमार मैनाली, पूर्णचन्द्र सिग्देल, गोबिन्द उप्रेती लगायतका नेताहरु पुगेका थिए । बनेपाबाट पुग्ने उनीहरु सबै पूर्व एमालेका नेता कार्यकर्ता हुन् । भलै भेलामा सहभागि ९७ प्रतिशत भन्दा बढी कार्यकर्ता पूर्व एमालेकै रहेको स्रोतको दाबी छ । बाँकी ३ प्रतिशत भने पूर्व माओवादीका कार्यकर्ता झुक्किए पुगेका हुन् ।

सिपालीमा भएको बेलाको फोटो राख्दै नेकपाका युवा नेता कञ्चन अधिकारी ‘एकता गर्न नसक्दा विद्रोह’ भन्ने शीर्षक राखेर फेसबुकमा लेख्छन् ‘पार्टी एकीकरण भएको दुई वर्ष वितिसक्दा पनि काभ्रे जिल्ला कमिटीको बैठक बस्न नसकेपछि रोशी ६ सिपालीमा पार्टी सदस्यहरुको आम भेलाले पार्टी कमिटी गठन गरेछ ।’

नेता अधिकारीको आशय वडा अधिवेशनबाट पार्टी कमिटी गठन भएको भन्ने बुझिन्छ । तर भेलाले वडा कमिटी गठन गरेको होइन् । भेलाले वडा अधिवेशन गर्न भिमबहादुर सिवाकोटीको संयोजकत्वमा १५ सदस्यीय सम्पर्क तथा संगठन परिचालन कमिटी गठन गरेको हो । सिवाकोटी पनि पूर्व एमालेकै स्थानीय नेता हुन् ।

स्रोतका अनुसार बनेपाबाट अकस्मात अगुवा भेलाको सूचना गाउँमा प्रवाह भएपछि पूर्व माओवादीले सकेसम्म आफ्नो भनिएका कार्यकर्तालाई रोकेका थिए । त्यो भेलामा जति पूर्व माओवादीका कार्यकर्ता पुगे उनीहरुमा समयमै सूचना नपुगेको बताइएको छ । एकथरिले सिपालीको भेलाले नेतृत्वलाई दबाब दिन यसो गरेको दाबी गरेका छन् । अगुवा कार्यकर्ता भेला गर्ने पक्षले एकतालाई छिट्टो टुंग्याउन नेतृत्वलाई दबाब पनि भनेका छन् ।

तर अर्को थरिले भने जिल्ला पार्टी कमिटीको नीति र निर्देशन विपरित अगुवा कार्यकर्ताको नाममा पार्टी हित विपरित गतिविधि भएको बताएका छन् । सिपालीमा भेला गर्न पूर्व एमालेका युवा विद्यार्थी पुगेपनि पूर्व एमालेकै जिल्ला र नेकपा रोशी गाउँपालिकाको कुनै पनि नेताहरुलाई जानकारी नभएको बताइएको छ ।

जिल्ला कमिटी सदस्य एवं पूर्व माओवादी रोशी गाउँपालिका कमिटीका अध्यक्ष उज्ज्वल लामाले अगुवा कार्यकर्ता भेलामा पूर्व माओवादीका कार्यकर्तालाई नजान निर्देशन दिएको स्वीकार गरे । ‘अगुवा कार्यकर्ता भेलामा पूर्व माओवादीका साथीहरुलाई नजान निर्देशन दिएको हुँ, उनले भने ‘जिल्ला नेतृत्वका विषयमा गाउँका कार्यकर्ता बिच बितृष्णा पैदा भइरहेको छ, तर सबै कुरा विधिसम्वद् ढंगले हुन आवश्यक छ, त्यसैले उक्त भेलामा पूर्व माओवादीलाई नजान भनेको हुँ ।’

6075
Shares

ट्रेन्डिङ