काभ्रे, २५ भदौः काभ्रेको रोशी गाउँपालिकाले योजना सम्झौता गर्न बार निर्धारण गरेको छ । कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि पालिकाले बारे तोकेको हो ।
पालिकाका अध्यक्ष डिबी लामाले आज एक सूचना जारी गर्दै आइबार र सोमबार वडा नम्बर १, २, ३ र ४ का योजना सम्झौता गरिने बताउनुभयो । त्यस्तै मंगलबार र बुधबार ५, ६, ७ र ८ नम्बर वडाको योजना सम्झौता गरिने छ । बिहिबार र शुक्रबार ९, १०, ११ र १२ नम्बर वडाको योजना सम्झौता हुनेछ । पालिकाले भौतिक दुरी कायम गरेर उपभोक्ता समिति गठन गर्न पनि आग्रह गरेको छ ।
पालिकाले होतल, रेष्टरेण्ट तथा अन्य पसल ब्यवसाय सञ्चालन गर्न समेत आग्रह गरेको छ । भौतिक दुरी, मास्क, स्यानिटाइजर तथा साबुन पानीले हात धुने ब्यवस्था गरेर ब्यवसाय सञ्चालन गर्न पालिकाले भनेको हो । सरकारी तथा सार्वजनिक संस्था, बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुले स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरेर नियमित रुपमा प्रवाह सुरु गर्न पनि पालिकाका अध्यक्ष लामाले जारी गरेको सूचनामा भनिएको छ ।
पालिकाले तरकारी, दुध तथा अन्य खाद्य सामाग्री ढुवानी गर्ने गाडीका सवारी चालक, सहचालक र ब्यवसायीसँग कम्तीमा २ को भौतिक दुरी कायम गरेर मात्रै खरिद बिक्री गर्न पालिकाले नियम बनाएको छ । पिसिआर नेगेटिभ रिपोर्ट बाहेक विदेश तथा स्वदेशकै अन्य जिल्लाबाट आउने सबै नागरिक पालिकाले तोकेको क्वारेन्टाइनमा अनिवार्य बस्न पालिकाले आग्रह गरेको छ ।