झापा । हात्तीले कुल्चिएर झापाको हल्दिबारी गाउँपालिका–३ स्थित रणकाली सामुदायिक वनमा कार्यरत चौकीदार धनबहादुर वनको मृत्यु भएको छ ।
हात्तीको आक्रमणमा परी चौकीदार वनको घटनास्थलमै मृत्यु भएको हो ।
सामुदायिक वनको रेखदेखका लागि जङ्गलमा रहेका ४० वर्षीय वनलाई आज बिहान ९ बजेतिर एक्लै भएको अवस्थामा जङ्गली हात्तीले लछारपछार पारी खुट्टाले कुल्चिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालले बताएका छन् ।
घटनास्थललाई सुरक्षित राखेर अनुसन्धान तथा कानुनी प्रक्रिया सुरु गरिएको छ । एक साताअघि दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा जङ्गली हात्तीले आक्रमण गर्दा ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको थियो ।