सबैको समाचार
आइतवार, भदौ २३, २०८१

दर भर्सेस व्रत 

50
Shares
दर भर्सेस व्रत 

काभ्रे ।हिन्दू नारीहरूको महान् पर्व तीज नजिकिँदो छ । पर्व भनेपछि धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिकोणले महत्त्वपूर्ण दिन भनेर बुझ्नु पर्ने मान्यता छ ।

तीज पर्व भन्नासाथ हामी चेली-माइती पक्षको भेटघाट, रमाइलो एवं दर खाने दिनहरूको सूची हो ।

पाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन्। यो पर्व मुख्य रूपले नेपालभर मनाईन्छ भने भारतका केही ठाउँहरुमा पनि मनाईन्छ ।

भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो व्रत राखेकि थिईन् त्यो दिन यहि हरितालिका तिजको दिन थियो त्यसै दिन आजसम्महिन्दु नारीहरूले यो पर्व मनाउदै आएका छन्।

यस्तो छ तिजको धार्मिक विश्वास :

सत्ययुगमा तिजकै दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद्हरू बताउँछन् ।

पार्वतीले शिवलाई श्रीमानका रूपमा पाउन १ सय ७ जन्मसम्म घोर तपस्या गरे पनि १ सय ८ औँ जन्ममा मात्र उनको तपस्या पूरा भएको शास्त्रहरूले बताएका छन् । यही मान्यतालाई अनुसरण गर्दै (गराउदै?) विवाहित महिलाले आफ्ना श्रीमानको दीर्घायु एवं अविवाहित महिलाले सुयोग्य वर पाऊँ भनी तीजको व्रत बस्ने चलन छ ।

समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेको धर्मशास्त्रीहरुको मत छ ।यो व्रत सक्नेले निराहार बस्ने भएकाले अघिल्लो दिन व्रतालुहरुले मीठा मीठा परिकार दरका रुपमा खाई आजको व्रतका लागि पूर्व तयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् ।

के हो दर ?

भाद्र शुक्ल द्वितीया अर्थात् हरितालिका तीजको अघिल्लो दिन तीजको व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु नारीहरूले खाने ‘दरिलो खाद्य वस्तु’ नै दर हो ।

शाब्दिक रूपमा दरो या बलियो भन्ने बुझिने दर शब्द हाम्रो अधिकांश चाडपर्वको पूर्व सन्ध्यामा आउने शब्द हो ।

माइतीपक्षले आफ्ना चेलीबेटीलाई दर खुवाउने प्रचलन रहेको छ ।   भोलीपल्टको दिन व्रत या पुजा अर्चना गरेर मात्र खान पाउने प्रावधान भएको अवस्थामा राती अडिलो खाना खाएर सुत्ने, सकेसम्म ढिलो खाना खाएर सुत्ने चलन थियो । यही चलन अहिले आएर दर भएको हो ।

कस्तो हुनुपर्छ दरको परिकार ?

दरको रुपमा खाने परिकार भनेको दूध हालेर तयार पारिएको ढकनी, चाम्रे, कुरौंनी आदि हुन् ।दर खाँदा विशेष ध्यान दिनुपर्ने  हुन्छ ।

दरका नाममा अघिल्लो दिन अत्यधिक खाने र भोलिपल्ट पानी समेत नखाई व्रत खस्दा स्वास्थ्यमा झनै असर हुनसक्छ । दरमा कार्बोहाइड्रेड, फाइवरयुक्त खानेकुराहरु खानुपर्छ ।

दर खाने दिन बढी चिल्लो, पिरो खाना खाने र भोलिपल्ट केही नखाई ब्रत बस्ने गर्दा पेटको समस्या तथा ग्लुकोजको मात्रा कम भएर व्रतको दिन स्वास्थ्य समस्या नै निम्तिन सक्छ। दरमा धेरै थरीका परिकार समावेश हुन्छन्। दरको दिन परिकार तयार गर्ने क्रममा तेल तथा मसलामा विशेष ध्यान दिन आवश्यक छ। सकेसम्म घरमै परिकारहरु तयार बनाएर खाँदा राम्रो हुन्छ।

भड्किलो बन्दैछ तिज :

अहिले यो पवित्र पर्व हरितालिका तीज विकृतिको शिकार बन्दै गईरहेको छ । तीजको नाममा दर खाने र खुवाउने प्रचलन परापूर्वकालदेखि सुरु भए पनि अहिले आएर महिनौंअघिदेखि दर खुवाउने परम्पराले विकृति पैदा गरिरहेको छ।

केही वर्षदेखि संस्थागत रूपमा तीज कार्यक्रमको आयोजना गर्ने प्रचलन पनि बढिरहेको छ। पछिल्लो समयमा त लगभग प्रतिस्पर्धा जसरी कार्यक्रमहरूको आयोजना भैरहेको देखिन्छ।

कुनै पनि चाडपर्वको आफ्नै विशेषता, मूल्यमान्यता र पहिचान हुन्छ। चाडपर्वको आफ्नो विशेषता, मूल्य र मान्यता अनुसार त्यसको संरक्षण गर्नु, जगेर्ना गर्नु र त्यसलाई निरन्तरता दिनु संस्कृति हो  ।

त्यस्तै तीजलाई केन्द्रित गरेर बजारमा आएका कयौं गीतले आलोचना र अश्लीलता समेटिरहेका छन्। रातारात स्थापित हुन चाहने नयाँ कलाकार जिम्मेवार नभइदिँदा विभिन्न च्यानलमार्फत अश्लील तीज गीतहरु बजिरहेका छन्।

तीज नेपाली महिलाको शक्ति, स्वतन्त्रता र सङ्कल्पको चाड भनिए पनि विकृति फैलाउने जरोका रूपमा स्थापित हुँदैछ। यस्ता विकृतिले हाम्रो संस्कार र संस्कृतिका मूल्य एवं मान्यतालाई दिग्भ्रमित गर्ने र समग्र समाजलाई नै दूषित बनाउने हुनाले यस खालका विकृति र विसंगतिलाई हटाई हाम्रो संस्कार, संस्कृति, रीतिरिवाज र चाडपर्वलाई मौलिक एवं स्वच्छ र स्वस्थ राख्न जरुरी छ।

50
Shares

ट्रेन्डिङ