काभ्रे :- काभ्रे जिल्लाको बनेपा नगरपालिका–७ स्थित उग्रचण्डी होटलमा आयोजित उज्यालो नेपाल पार्टीको जिल्ला भेलालाई सम्बोधन गर्दै ऊर्जा, जलस्रोत तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले जेन जीका माग सम्बोधन गर्न नसके वर्तमान सरकारको औचित्य समाप्त हुने बताउनुभएको छ।
मन्त्री घिसिङले जेन जीले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै अहिलेको सरकार जेन जी आन्दोलनपछिको परिस्थितिमा बनेको र केही दिनअघि मात्र जेन जीका माग सम्बोधनका लागि सरकारसँग सम्झौता सम्पन्न भइसकेको बताउनुभयो। ज्ञापनपत्रमा समेटिएका धेरै विषयहरू सम्बोधन भइसकेका र बाँकी विषयहरू कार्यान्वयनको चरणमा रहेकाले जेन जी आन्दोलनलाई जनयुद्धसरह लिएर आन्दोलनमा सहभागी भएकै आधारमा कसैलाई प्रहरीले दुःख दिने कार्य भए वर्तमान सरकारको समेत औचित्य समाप्त हुने उहाँको भनाइ थियो।

उहाँले सम्बोधनकै क्रममा काभ्रे जिल्लालाई उज्यालो बनाउने लक्ष्यसहित तत्काल काम सुरु गर्न निर्देशन दिनुभयो। दिन–रात नभनी पार्टीका कार्यकर्ताहरू सक्रिय भएर ‘उज्यालो काभ्रे’ बनाउने अभियान सञ्चालन गर्न उहाँले आग्रह गर्नुभयो।

छोटो समय भए पनि असम्भव नभएको उल्लेख गर्दै मन्त्री घिसिङले जेन जी आन्दोलनपछिको सरकार मात्र होइन, आगामी निर्वाचनपछि बन्ने सरकार कस्तो हुन्छ भन्ने मुख्य विषय भएको बताउनुभयो। अब बन्ने सरकारको नेतृत्व उज्यालो नेपाल पार्टीले गर्नुपर्ने धारणा पनि उहाँले व्यक्त गर्नुभयो।

साथै, आज गठन हुने काभ्रे जिल्लाको संयोजन टोलीले तदारुकताका साथ काम गरी आगामी निर्वाचनमा पार्टीलाई जित दिलाउनुपर्नेमा उहाँले जोड दिनुभयो। जेन जी आन्दोलनमा सहभागी भएको वा सहभागी नभएकै आधारमा पनि प्रहरीले दुःख दिने, घरकडा गर्ने तथा पुराना दलहरू मिलेर झुटा मुद्दामा फसाउने कार्य भइरहेको भन्दै त्यसको अन्त्य वर्तमान सरकारले नगरे पुनः जेन जी युवाहरू आन्दोलनमा उत्रिने चेतावनी पनौती नगरपालिका–२ का श्याम तिमल्सिनाले ज्ञापनपत्र बुझाउँदै दिनुभएको छ।

उज्यालो नेपाल पार्टीमा हाल काभ्रे जिल्लाबाट चार जना केन्द्रीय सदस्य रहेका छन्। आज जिल्लाको कार्य सञ्चालन गर्ने टोलीसमेत गठन हुने जनाइएको छ।
