सबैको समाचार
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • कुकुरको प्रयोग गरी लागुऔषध कोरोबार

कुकुरको प्रयोग गरी लागुऔषध कोरोबार

3670
Shares
कुकुरको प्रयोग गरी लागुऔषध कोरोबार

कुकुर ओसार पसार गर्न प्रयोग हुने काठको खोर (उडन क्रेट) मा लुकाएर अमेरिका भित्र्याउन लागिएको दश किलोग्रामभन्दा बढी प्रतिबन्धित कडा लागू औषध – हेरोइन अमेरिकी अधिकारीहरुले बरामद गरेका छन् ।
सो क्रेटमा नक्कली पीँधमा तयार पारी त्यस भित्र हेरोइन कोची भन्सारलाई झुक्याउन उक्त लागु पदार्थ अमेरिका भित्र्याउन खोजिएको प्रयासलाई प्रहरी अधिकारीहरुले बिफल तुल्याइ दिएका हुन् ।
पुर्टोरिकोबाट न्युयोर्कको जोन एफ केनेडि विमानस्थल हुँदै अमेरिकातर्फ तस्करी गर्न खोजिएको उक्त क्रेटमा एउटा एउटा लाब्य्राडर रिट्राइभर प्रजातिको कुकुर समेत रहेको जनाइएको छ ।
सो हेरोइन तस्करी गर्ने प्रयासमा संलग्न दुईजना अमेरिकी साझेदारहरुः न्युयोर्कको ब्रोङ्कस निवासी ३५ बर्षिय सामुएल सिब्रुक्स र न्युयोर्ककै कार्मेल निवासी २७ बर्षिय कार्लोस बेटनकोर्ट–मोराल्सलाई पक्राउ गरिएको छ ।
उनीहरु उपर प्रतिवन्धित लागूपदार्थ तस्करी गरेको तथा सरकारी अधिकारीलाई झुक्याउन खोजेको आरोपमा मुद्दा चलाइएको समेत क्वीन्स जिल्ला न्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।
सरकारी वकिलको श्रोतबाट प्राप्त जानकारी अनुसार गत शुक्रबार राति ब्रोङ्कस आइएचओपि रेस्टुराँमा यी दुइजना युवकको भेटघाट भएको र त्यहीँ नै यी दुई जनाले सरसल्लाह गरी अमेरिकाभित्र लागूपदार्थ तस्करी गरी ल्याउने योजना तयार पारेका थिए ।
योजना मुताबिक यिनीहरुले पुर्टोरिकोका तस्कर समूहसँग सम्पर्क गरी कुकुर सहितको क्रेट आयात गरेका र बढ्तै मूल्य तिरी जोन एफ केनेडि विमानस्थल स्थित अमेरिकन एयरलाइन्सको प्रायोरिटि पार्सल सर्भिसको सेवा प्रयोग गरेका थिए ।
प्रायोरिटि पार्सल सर्भिसमार्फत् मगाइने सरसामानहरुको कमै मात्र भन्सार चेक जाँच हुने गर्दछ । त्यसमाथि पनि कुकुर थुनिएको क्रेट भएपछि भन्सार अधिकारीहरुलाई झुक्याउन सजिलो हुने नै भयो ।
यही भन्सार सुविधा, सहुलियतको दुरुपयोग गर्दै सो क्रेटलाई एउटा ट्रलीमा राखेर छिटो छिटो गुडाउँदै भन्सार परिसरबाट बाहिर निकाल्न लागेकै अवस्थामा यी दुइ युवक प्रहरीको फन्दामा परिहाले ।
नक्कली पीँध फुकालेर खोतल खातलपारी प्लास्टिकले बलियोसँग बेरेर पोका पारिएका दसवटा पार्सल भित्र २२ पाउण्ड (१० केजि) हेरोइन फेला पयो । बरामद भएको उक्त सबै हेरोइनको बजार मूल्य दसलाख अमेरिकी डलरभन्दा बढी पर्ने मूल्याङ्कन गरिएको छ । उक्त सबै पार्सलमा खेलकूदका सामाग्री उत्पादक कम्पनीः नाइकको लोगो र पाँचकोणयुक्त ताराको चिन्ह अङ्कित भएको पाइयो ।
न्युयोर्कका यी दुईजना युवकलाई लगाइएको अभियोग अदालतद्वारा प्रमाणित भएमा जनही बीस बीस बर्षको काराबासको सजायँ हुनेछ ।
यता, एक निर्दोष जनावरलाई प्रयोग गरी यत्रो परिमाणमा लागुपदार्थको तस्करी गर्न लागिएको भनी पशुअधिकारबादीहरुले यस घटनाको निन्दा गरेका छन् ।
अमेरिका भित्र्याइनुअघि बन्दरगाह, विमानस्थल वा प्रत्येक प्रवेश नाकामा पशु–पंक्षी (क्वारेन्टाइन) को राम्ररी जाँच पड्ताल गर्नु पर्ने भनी अमेरिकन ह्युम्यान सोसाइटिकी जिन स्याफिरोफले अमेरिकी सरकारलाई सतर्क गराएकी छिन् ।रासस ÷एपी

3670
Shares

ट्रेन्डिङ