सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • निर्वाचनमा महिला नेतृत्वमा जोड

निर्वाचनमा महिला नेतृत्वमा जोड

2690
Shares
निर्वाचनमा महिला नेतृत्वमा जोड

राजनीतिक दलहरुलाई निर्वाचन आयोगले आसन्न स्थानीय तहको चुनावमा सम्भावित गाउँपालिका तथा नगरपालिकाका सबै पदमा महिला उम्मेदवार दिन आह्वान गरेको छ । “म दल र तिनका नेतालाई संविधानका प्रावधानभन्दा माथि उठेर स्थानीय तहमा सकेसम्म सबै पदमा महिला उम्मेदवार दिई नमुना गाउँपालिका र नगरपालिका बनाउन अनुरोध गर्छु” – प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले भन्नुभयो ।
संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रमको आर्थिक एवम् प्राविधिक सहयोगमा आयोगद्वारा स्थानीय शासन प्रक्रियामा महिलाको नेतृत्व र प्रतिनिधित्व सवलीकरण विषयक आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सम्पूर्ण रुपमा महिलाले नेतृत्व गर्ने गाउँपालिका तथा नगरपालिका जनताले चाहिरहेका छन् भन्नुभयो ।
आगामी स्थानीय तहको चुनावका क्रममा सबै महिलाले नेतृत्व गर्ने मतदानस्थल बढीभन्दा बढी बनाउन आयोगले प्राथमिकता दिएको जानकारी दिँदै उहाँले चुनाव महिलामैत्री बनाइने छ भन्नुभयो ।

प्रमुख निर्वाचन आयुक्त डा यादवले भन्नुभयो – “सबै जिल्लाका मतपत्र आज बेलुकासम्म छपाइ सम्पन्न भइसक्छ, मतदाता नामावली छपाइ भइसक्यो, मतदाता परिचयपत्र प्रिन्ट भइसक्यो, चुनावलाई चाहिने ६७ प्रकारका सामग्री जिल्ला जिल्लामा ढुवानी भइरहेको छ । ”
विसं २०६४ र २०७० को संविधानसभा निर्वाचनमा महिला सहभागिता ३३ प्रतिशत रहेकामा संविधानले यस प्रावधानलाई वृद्धि गरी स्थानीय तहमा ४० प्रतिशत महिला सहभागिता अनिवार्य गरेको छ । गाउँपालिका वा नगरपालिकाको प्रमुख वा उपप्रमुखमध्ये एक महिला अनिवार्यका साथै वडामा कम्तीमा एक दलित, जनजाति महिलाको सहभागिता पनि अनिवार्य गरेको छ ।
यस प्रावधानअनुसार अब ४८१ गाउँपालिका, २४६ नगरपालिका १३ उपनगरपालिका र चार महानगरपालिकाबाट १३ हजार ३६० महिला निर्वाचित हुनेछन् ।
महिलाले जितेको संविधान ः सभामुख घर्ती
कार्यक्रममा सभामुख ओनसरी घर्तीले महिलाले जितेको संविधानलाई कार्यान्वयन गर्न स्थानीय चुनाव आवश्यक भएकामा जोड दिनुभयो । उहाँले भन्नुभयो – “कुनैबेलामा ढुङ्गा नफोर्नु तर मौकामा हिरा पनि फोर्नुपर्छ, यसैले चुनावको यस महान् अभियानलाई सफल बनाउन म सबैमा आग्रह गर्छु ।”
सभामुख घर्तीले चुनावले सिंहदरबारको अधिकार घर आँगनमै प्राप्त हुने चर्चा गर्दै संविधानको प्रस्तावनाले नै समानुपातिक र समावेशितामा जोड दिएको छ भन्नुभयो ।
निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले प्रतिनिधित्व र नेतृत्व फरक विषय भएकाले स्थानीय चुनावले एकसाथ महिलाको प्रतिनिधित्व र नेतृत्व पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो ।
अन्तरपार्टी सञ्जालका अध्यक्ष प्रतिभा राणाले महिलालाई उपप्रमुख÷उपाध्यक्ष पदमा मात्र सीमित नराखी प्रमुख पदमा पनि टिकट दिन शीर्ष नेतालाई आग्रह गर्दै दलित महिला उम्मेदवार नभएका स्थानको पद खाली नराखी विकल्प खोजी गर्न निर्वाचन आयोगलाई अनुरोध गर्नुभयो ।
स्थानीयतहको निर्वाचनमा महिला सहभागिताको साझा अभियानका संयोजक दुर्गा घिमिरेले स्थानीय तहमा महिलाले नेतृत्व गर्दा भ्रष्टाचार कम, सुशासन, पारदर्शिता हुने तथा समग्र आर्थिक तथा सामाजिक उन्नयनसमेत हुने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्र सङ्घीय विकास कार्यक्रमका देशीय प्रतिनिधि भ्यालेरी जुलियाण्डले निर्वाचनले लोकतन्त्रलाई संस्थागत विकास गर्ने विश्वास प्रकट गर्नुभयो ।
दुईदिने सो कार्यक्रममा सबै जिल्लाका महिला नेत्रीको सहभागिता रहेको छ । रासस

2690
Shares

ट्रेन्डिङ