सबैको समाचार
मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • कसरी प्रयोगमा आयो गर्भनिरोधक चक्की पिल्स?

कसरी प्रयोगमा आयो गर्भनिरोधक चक्की पिल्स?

11435
Shares
कसरी प्रयोगमा आयो गर्भनिरोधक चक्की पिल्स?

विशौं शताब्दीको मानव जीवनमा अत्यधिक प्रभाव पारेका खोज अनुसन्धानमध्ये गर्भ निरोधक चक्की पिल्स पनि अग्रपंक्तिमा पर्छ । आज विश्वभर नै गर्भ निरोधक पिल्सले मानव जीवनमा गहन सामाजिक प्रभाव पारेको निर्विवाद छ। पिल्सको विकास हुनुमा अमेरिकाकी गर्भ निरोधक अभियन्ता, नर्स, यौन शिक्षक र लेखिका मार्गरेट स्यांंगरको योगदान अविस्मरणीय छ। उनले महिलालाई यौन शोषणबाट स्वतन्त्र पारी पुरुषसरह सामाजिक रुपमा समान बनाउन वैज्ञानिक र अनुसन्धानकर्तासँग गर्भ निरोधक औषधीको विकास गर्न आग्रह गरेकी थिइन्।
सामान्य रुपमा पिल्सले महिलाको सामाजिक स्थितिमा मात्र क्रान्तिकारी परिवर्तन ल्याएन, यसले उनीहरूको जीवनमा ठूलो आर्थिक क्रान्ति गर्‍यो। गर्भ निरोधक पिल्सले महिलाको जीवनमा ल्याएको सामाजिक र आर्थिक परिवर्तन बुझ्न यो विकास हुनुअघिको पृष्ठभूमि केलाउन आवश्यक छ। शताब्दियौंदेखि प्रेमी प्रेमिकाकाले गर्भ निरोधका अनेकौं प्रकारका अव्यावहारिक उपाय अपनाउँदै आएका थिए । प्राचीन इजिप्टमा गर्भ निरोधका लागि गोहीको गोबर प्रयोग गरेको उल्लेख पाइन्छ भने विख्यात दार्शनिक एरिस्टोटलले गर्भ निरोधका लागि देवदारुको तेल प्रयोग गर्ने सल्लाह दिएका छन् । स्त्रीगामी पुरुषहरुले महिलालाई गर्भवती हुनबाट रोक्न पाठेघरको मुख कागतीको बोक्राले थुन्नेजस्ता तरिका त्यस्ता अनेकौं उपायमध्येकै हो।
यस्ता उपायमात्र होइन गर्भ निरोधक पिल्सको विकल्प कन्डमको समेत सफलता दर शतप्रतिशत छैन । अधिकांश प्रयोगकर्ताले कन्डमको जसरी प्रयोग गर्नुपर्ने हो, ठ्याक्कै त्यसरी प्रयोग नगर्ने, कहिलेकाहीँ च्यातिने र कहिलेकाहीँ खुस्किने÷चिप्लिनाले गर्भ रहन जान्छ । एक वर्षसम्म कन्डम प्रयोग गर्ने एक सय यौन सक्रिय महिलामध्ये १८ जना गर्भवती हुन्छन् । स्पन्जको असफलता दर पनि यस्तै छ । डायफ्राम प्रयोगको स्थिति पनि यस्तै छ। तर पिल्सको असफलता दर भने मात्र ६ प्रतिशत छ, कन्डमभन्दा तीन गुणा थोरै । अझ ठीक तरिकाले प्रयोग गर्दा त पिल्सको असफलता दर घटेर २० मा एक मात्र हुन आउँछ।
आर्थिक क्रान्ति
कन्डम प्रयोग गर्नुको अर्थ यौन सुखमा सम्झौता गर्नु हो । त्यस्तै डायफ्राम र स्पन्जको प्रयोग झन्झटिलो थियो । तर पिल्स वा अन्य गर्भ निरोधक प्रयोग गर्ने निर्णय महिलाको व्यक्तिगत निर्णय थियो, किनभने यो नितान्त निजी र बुद्धिमानीपूर्ण थियो।
अमेरिका सन् १९६० मा पहिलोपल्ट पिल्स प्रयोग गर्न अनुमति दिइयो । यसको पाँच वर्षभित्रै गर्भ निरोधक प्रयोग गर्ने विवाहित अमेरिकी महिलामध्ये आधाले पिल्स प्रयोग गर्न थाले। वास्तविक क्रान्ति भने त्यसबेला मात्र भयो, जतिबेला अविवाहित महिलाको पहुँचमा पिल्स अथवा गर्भ निरोधक खाने चक्की पुग्यो । यसो हुन भने केही समय लाग्यो । पिल्स प्रयोगमा आएको एक दशकपछि सन् १९७० ताका अमेरिकाका राज्यहरूले एकपछि अर्को गर्दै पिल्सलाई अनुमति दिन थालेपछि अविवाहित र एकल महिलाले सहज रुपमा पिल्स प्रयोग गर्न सहज भयो।
विश्वविद्यालयहरूले परिवार नियोजन केन्द्र स्थापना गर्न थाले । ७० को मध्यसम्म १८/१९ वर्षका अमेरिकी महिलामाझ पिल्स सर्वाधिक लोकप्रिय गर्भ निरोधक साधन बन्यो । यसपछि नै हो पिल्सले महिलाको जीवनमा आर्थिक क्रान्ति ल्याएको। उपयोगले अमेरिकी महिलाहरूलाई कानुन, मेडिसिन, दन्त चिकित्सा र व्यवस्थापनजस्ता विषयमा डिग्री र विशेषज्ञता हासिल गर्न सहज बनायो । त्यसअघि यी विषयमा पुरुषको वर्चश्व थियो।
सन् १९७० मा मेडिसिनमा डिग्री गर्नेमध्ये ९० प्रतिशत संख्या पुरुषको थियो भने कानुन र एमबिए गर्ने ९५ प्रतिशत पुरुष थिए । ९९ प्रतिशत अमेरिकी दन्त चिकित्सक पुरुष थिए । पिल्सको साथ पाएका अमेरिकी महिलाको संख्या यस्ता सबै विषय अध्ययनमा ७० को सुरुवातदेखि नै उल्लेखनिय वृद्धि भयो– पहिला कुल विद्यार्थी संख्याको २० प्रतिशत, त्यसपछि २५ प्रतिशत र सन् १९८० सम्म आइपुग्दा ३३ प्रतिशत। र, यो संख्यात्मक वृद्धि पिल्सले महिलालाई गर्भ निरोध सहज बनाएका कारण नै सम्भव भएको थियो।
पेशागत उन्नति
उच्च शिक्षा हासिल गर्न चाहने महिलाहरू यस्ता व्यावसायिक विषय अध्ययन गर्न अग्रसर भए। मेडिसिन र कानुनजस्त विषय अध्ययन गर्ने महिलाको अनुपात ह्वात्तै बढ्यो । यसको फलस्वरुप चिकित्सा र वकालतमा महिला उपस्थिति नि छोटो समयमा नै बढ्यो।
तर यी सबै हुनुमा पिल्सको योगदान के थियो त ?
पिल्सले महिलालाई प्रजनन नियन्त्रण गरी आफ्नो पेशागत विकासमा समय दिनसक्ने बनायो। पिल्स उपलब्ध हुनुअघि महिलाले कम्तिमा चार/पाँच वर्ष लगाएर चिकित्सक वा वकिल बन्नुपर्दा समय र पैसा खर्चनु खासै उपयोगी देखिँदैनथ्यो । यस्ता व्यावसायिक विषय अध्ययनको फाइदा उठाउन महिलाले सन्तानको जन्मलाई कम्तिमा आफू ३० वर्ष नपुगुन्जेल सार्नसक्नु पथ्र्यो।
अध्ययनका बीचमा नै सन्तान जन्माउँदा महिलाको व्यावसायिक/पेशागत विकास हुन समय लाग्ने वा अध्ययन नै छाड्नुपर्ने बाध्यता पनि हुन्थ्यो। यस्तोमा चिकित्सक वा डेन्टिस्ट वा वकिल बन्न चाहने एक जना यौन सक्रिय महिलालाई असमयमा हुने गर्भधारणले अध्ययन र पेशागत विकासमा गरेको समय र रकमको लगानी बालुवामा पानी हालेसरह खेर जान्थ्यो।
ढिलो विवाह
पेशागत विकास गर्न वा उच्च शिक्षा अध्ययन गर्न चाहने महिला अनिच्छित गर्भधारणबाट जोगिन यौन सम्पर्कबाट टाढै रहनुपर्ने बाध्यता थियो । तर कतिपय महिला त्यसो गर्न चाहँदैनथे।
यौन सम्पर्क गरेर गर्भधारण नगर्न सम्भव थिएन । साथै पेशागत विकासमा लाग्दा विवाहको उमेर घर्कन्थ्यो र उपयुक्त पति पाउने सम्भावना पनि न्यून हुन्थ्यो । त्यसैले पिल्स उपलब्ध हुनुअघि महिलाहरूले युवा उमेरमै विवाह गर्नु बाध्यताजस्तै थियो । एउटी महिला यौन सम्पर्कबाट टाढा बसेर करियर निर्माणमा लाग्नु र त्यसपछि ३० वर्षको उमेरमा उपयुक्त पति खोज्दा त्यसबेलासम्म सम्भावित सबै उपयुक्त अविवाहित पुरुषहरू भेट्न कठिन हुनु स्वाभाविक थियो।
पिल्सले यी दुवै समस्या समाधान गरिदियो । एकातिर यौन सक्रिय अविवाहित महिलाले गर्भधारणको जोखिममुक्त हुन पाए भने अर्कातिर उमेरमै विवाह गरेर पनि गर्भधारणको झन्झटबाट मुक्ति पाए।
पिल्सले विवाहको पद्धतिमा नै ठूलो परिवर्तन ल्याइदियो । अधिकांश महिला ढिलो बिहे गर्न थाले, यहाँसम्म कि पिल्स नै नखाने महिलासमेत ढिलो विवाह गर्न थाले । बिहेपछि पनि महिलाले सन्तानको चाहना गरेपछि मात्र गर्भधारण गर्न थाले । यसको अर्थ, महिलाले आफ्नो करियर निर्माण गर्ने र पेशामा स्थापित हुने पर्याप्त समय पाउन थाले । यसबाहेक ७० को दशकले अमेरिकी महिलालाई अन्य कुराले पनि प्रभावित गर्‍यो।
आय वृद्धि
यसपछि गर्भपात वैध भयो, लैंगिक विभेदविरुद्ध कानुन निर्माण भई कार्यान्वयनमा आए, महिला अधिकारवादी अभियान सुरु भयो र भियतनाम युद्धमा युवकहरू सामेल हुनुपरेपछि अमेरिकी कम्पनी र मालिकहरू महिलालाई रोजगार दिन बाध्य भए। हार्वर्ड विश्वविद्यालयका अर्थशास्त्री क्लाउडिया गोल्डिन र लरेन्स काट्जले गरेको अध्ययनले महिलाले ढिलो विवाह गर्नु र आमा बन्नु तथा करियर बनाउन समय खर्चनुमा पिल्सको महत्वपूर्ण भूमिका भएको निष्कर्ष निकालेको छ।
गोल्डिन र काट्जले अमेरिकाका अधिकांश राज्यमा पिल्सको उपलब्धता र युवतीहरूको पहुँचको अनुगमन गरे । उनीहरूले सबै राज्यमा महिलाका लागि गर्भ निरोधक उपलब्ध रहेकाले व्यावसायिक विषय अध्ययन गर्ने महिलाको संख्या भएको वृद्धिसँगै महिलाले पाउने पारिश्रमिकमा वृद्धि भएको पाए।
यसको केही वर्षपछि अर्थशास्त्री अमेलिया मिलरले गरेको अर्को अध्ययनले भने २० वर्षतिरका महिलाले आमा बन्न एक वर्षमात्र ढिलाइ गरे पनि उनीहरूको जीवनभरको आम्दानी १० प्रतिशत वृद्धि हुने देखायो। महिलाले आमा बन्नुअघि अध्ययन पूरा गरी करियरमा स्थापित हुँदाका फाइदामध्ये यी केही हुन्। पिल्स सर्वसुलभ भएसँगै अमेरिकी महिलाहरू लामा समयावधीका व्यावसायिक विषय अध्ययन गर्न थाले।
वास्तविकताको अर्को पाटो
अहिले अमेरिकी महिलाले समुद्रपारका महिलाको स्थिति के छ वास्तविकता हेर्न सक्छन्। विश्वको सबैभन्दा बढी प्राविधिक विकास गरेको जापानमा सन् १९९९ मा मात्र पिल्स महिलाले उपयोग गर्न पाए । यसरी जापानी महिलाले गर्भ निरोधक पिल्सको उपभोग गर्न ३९ वर्ष पर्खनुपर्‍यो । जबकि, पुरुषको उत्तेजना बढाउने औषधी भियाग्राले अमेरिकामा अनुमति पाएको केही महिनामै जापानमा अनुमति पाएको थियो ।
विकसित देशमध्ये जापानमा चरम लैंगिक विभेद छ र जापानी महिलाले कार्यालयमा हुने लैंगिक विभेदविरुद्ध निरन्तर संघर्ष गरिरहनु परेकोमा विश्वभर भत्र्सना हुने गरेको छ । पिल्स र यसले महिला विकासमा पारेको प्रभाव ‘कज र इफेक्ट’ छुट्ट्याउन कठिन छ । दुई पुस्तालाई मात्र पिल्सको प्रयोग गर्न नदिने हो भने त्यसबाट महिलामा पर्ने नकारात्मक आर्थिक प्रभावको अनुमान गर्न सकिँदैन । जाबो एउटा सानो गर्भ निरोधक चक्की पिल्सले विश्व अर्थतन्त्रलाई निरन्तर अविश्वसनीय रुपान्तरण गरिरहेको छ ।
-बिबिसी

11435
Shares

ट्रेन्डिङ