जाडो बढेसँगै रुघाखोकी समस्या पनि बढ्दै जाने गर्छ । रुघा सरुवा रोग पनि हो । कुनै एक जनालाई रुघा लागेको छ भने उसले हाछ्यू गर्दा उडेका स साना किटाणुले स्वस्थ व्यक्तिलाई समेत रुघाको शिकार बनाउँछ ।
रुघा लागेको व्यक्ति भएको कोठाका झ्यालढोका लगाएर बस्दा जीवाणुहरू त्यहीँ रहन्छन् र रोग कोठामा बस्ने सबैलाई सर्छ । कहिले कुनै त कहिले कुनै प्रकारको जीवाणुको कारणले रुघा फैलिने भएकोले यसको विरुद्धमा खोप तयार पार्न पनि गाह्रो छ ।
रुघा लाग्नुभन्दा अघि धेरै जना नाक र घाँटीमा के–के भएजस्तो, बालुवा रहेको जस्तो, खसखस भएजस्तो हुन्छ भन्ने गर्छन् । यस्तो किसिमको अनुभव हुने बित्तिकै आराम गरेर प्रर्याप्त मात्रामा पानी (विशेष गरी कागती हालेर) पिउनु पर्छ । पानी मात्र पिउन मन नलागे तरकारीको तातो सूप पर्याप्त मात्रामा पिउनु पर्छ ।
रुघा लागेका व्यक्ति नजिक वा मुखामुख हुने गरी बस्नु हुँदैन । यदि बस्नु परेमा मुख र नाक छोप्ने किसिमको मास्क लगाउनु ठीक हुन्छ ।
अमला, कागतीजस्ता भिटामिन सी भएका भोजनको प्रयोग र मौसमी फलफूलहरूको प्रयोगले शरीरमा भिटामिन सी को आपूर्ति हुन सक्छ । भिटामिन सी ले शरीरको रोगसँग लड्ने शक्ति बढाउँछ ।
घाँटीमा खसखस भएको बेलामा मनतातो पानीमा नुन हालेर घाँटीमा गारगल (खकाल्ने) गरेमा दुखाइ निकै कम हुन्छ । सम्भव भए दिनमा ५–६ चोटि, त्यो नभए दुखेको र थुक निल्न गाह्रो भएको वेला चाहिँ कुल्ला गर्नु (खकाल्नु) पर्छ ।
घाँटी दुखेको बेला मनतातो पानीमा मह र कागती मिसाएर पिउनाले ३ वटा फाइदा हुन्छ । शरीरलाई पानीको मात्रा पुग्छ, कागतीले भिटामिन सी दिन्छ । महले केही मात्रामा क्यालोरी दिन्छ र घाँटीको दुखाइ पनि केही कम गर्छ ।
सम्भव भएमा त पूरा जीउ नै तातो पानीको वाफमा राख्न सके वा तातो पानीमा बस्न सके शरीरले आनन्द पाउने मात्र होइन शरीरमा रुघा लाग्दा सूक्ष्म जीवाणुहरूको विषको कारणले दुखेको मासंपेशीलाई पनि धेरै फाइदा हुन्छ । पानी उमालेर कुनै भाँडोमाथि राखी त्यस भाँडोमाथि टाउको राखेर कुनै बाक्लो कपडाले टाउको छोपेर वाफ लिन सकिन्छ ।
तुलसीको पात र दानालाई २–३ गिलास पानीमा उमालेर आधा गिलास भएपछि निकाली त्यो पानी पिउनाले धेरै फाइदा गर्छ । तुलसीको पात घरैमा पाइन्छ ।