सबैको समाचार
सोमवार, असार ३, २०८१
  • होमपेज
  • भुुडी अर्थतन्त्रले राष्ट्र बन्दैन

भुुडी अर्थतन्त्रले राष्ट्र बन्दैन

5895
Shares
भुुडी अर्थतन्त्रले राष्ट्र बन्दैन

धेरै पहिले भैरव अर्यालले भुँडी पुराण लेखेका हुन् । त्यो पुराण पञ्चायत, बहुदलको कालखण्डबाट खारिएर जन्मेको लोकतन्त्रमा पनि उत्तिकै सान्दर्भिक देखिन्छ । कस्तो सर्वकालीक पुराण लेखेछन् भैरवजीले । नेपालको पानी कति मीठो नानी भनिन्छ । यति मीठो पानी पिएका नेताहरुको स्वार्थी चरित्र देख्दा लाग्छ, नेताहरुभित्र कुन रसायन छ, जसले दूध खाएको सर्पले विष ओकलेझैं जनादेश खाएर जनघात ओकल्छन् ।

यिनको स्वार्थ भुँडी र भ्रष्टाचारमात्र भयो, देश र दुनियाँ कहिले पनि बन्न सकेनन् । कसैलाई छोरी प्यारो, कसैलाई छोरा, भाइ र आफन्त, कसैलाई गुट प्यारो, कसैलाई विदेशी प्रभू । जहाँ जनताको स्वार्थ हेरिन्न, त्यहाँ देशको स्वार्थ स्वत: छायाँमा पर्न जान्छ । ठ्याक्कै त्यही, भैरवको भुँडी पुराण नेपाल बन्यो ।

हिजो एउटा राजा थिए, तिनले १२ करोडको वार्षिक भत्ता ७२ करोड पुर्‍याए भनेर जनआन्दोलनमा ठूलै भूकम्प ल्याइयो । सत्ता सुनको किस्तीमा राखेर र भत्ता पाउमा लगेर अर्पण गर्ने यिनै नेता हुन् । जनताले निरंकूशता फाल भन्ने जनादेश थिएका थिए, नेताहरु मिलेर निरंकूशताका नाममा राजा फालिदिए र आफै नयाँ सामन्त, बादशाह बन्नपुगे ।

एउटालाई बिस्थापित नगरी अर्को स्थापित हुन नसक्ने अर्थसूत्र राजनीतिमा पनि देखियो । राजा बिस्थापित भए, नेताहरु महाराजा बनेर स्थापित भएका छन् । देशबाट न सामन्त हट्यो, न सामन्ती, राजनीति । बिकृति बलिया चिलाउनेका रुख भएर ठडिएका छन्, लोकराज राजनीतिको पाइतालाले थिचिदै रुन्चे हुँदै गएको छ ।

कहाँ छैन भ्रष्टाचार ? बच्चाले खाने दुध होस् अथवा बुढाले खाने औषधि, युवायुवतीलाई विदेश लखेट्ने तरिकामा होस् अथवा मजदूरको हकहितको संरक्षणमा । सेवाग्राहीलाई दिनुपर्ने सेवा बिटुलो छ, शान्ति सुरक्षा शंकास्पद छ । विदेशबाट सार्प सुटर आउँछन् र मान्छे मार्छन, हाम्रा सुरक्षा निकाय उनीहरुले लाए अह्राएजस्तो काम गर्छन् । यो देशको सत्व सतित्व कहाँ छ ? कुराले लोकतन्त्र बलियो हुन्न ।

लोकतन्त्र ठग, अनैतिक, चरित्रहीनहरुको मौजा बन्यो । लोकतान्त्रिक बिधि र व्यवहार रहेन यो लोकतन्त्रमा । लोकतन्त्र बिखण्डन र बिभाजनको विषबृक्ष बन्यो, जसले छहारी होइन, छद्मभेषीहरुलाई हुर्काइरहेको छ । हिजो हुक्के, बैठके शक्तिशाली देखिन्थे, आज झोले, चम्चेहरु बलिया बनेका छन् ।

जनतालाई निर्धो बनाएर देश लुटिने निरन्तरता रोकिएको छैन । लोकलज्जासमेत लज्जित हुनेगरी भ्रष्टाचारको महामारी प्रकोप बनिरहेको छ । यो प्रकोपलाई रोक्ने, लोकको चाहना परिपूर्ति गर्ने राजनीतिक भाषण हात्तीको देखाउने दाँतजस्तो छ । भ्रष्टाचार चपाएर देखाएको नक्कली दाँतलाई लोकतन्त्र कसरी मान्ने ?

देशको सबैभन्दा शक्तिशाली प्रधानमन्त्रीको सम्पत्ति एक कठ्ठा जग्गा र ३ तोला सुन रे, त्यो पनि पार्टीको रे । त्यही पार्टीका, जनयुद्धका सहयोगी बाबुराम भट्टराई भन्छन्– प्रचण्डसँगजति कालोधन कोहीसँग छैन । विश्व समाचार आइसकेको हो– दक्षिण एसियामा सबैभनदा धनी र धनाध्येहरुको पार्टी हो प्रचण्ड नेतृत्वको माओवादी ।

तर नवसम्भ्रान्त प्रचण्ड टाउकामा जेल हालेर हिड्छन्, सूटमाथि टाइ र टाउकामा टोपी लगाएर नयाँ मुसलमानले प्याज धेरै खाएजसरी डकार्छन्– म गरिब प्रधानमन्त्री हुँ । भनिन्छ, सुख लुकाएर लुक्दैन, प्रचण्डको अनुहारले नै उनलाई सुकिलामुकिला देखाइरहेकै छ । उनको गरिबीलाई उनकै लडाकु कार्यकर्ताले समेत पत्याएनन् । भन्दैछन्– हिजो रगत पियौ, आज भ्रष्टाचार पिउँदैछौं, तिमी कसरी गरिब ?

शान्ति र प्रगतिका कुरा गर्नेहरुले त्यसअनुरुपको कार्यान्वयनको चाहना देखाउन सकेनन् । विश्वले सघाएको छ, सघाउने इच्छा राखेको छ, त्यो सहयोग र सद्भावलाई नेपालीको हितमा प्रयोग गर्न नसक्नु राजनीतिक कमजोरी हो । राजनीतिक क्षेत्रमा योग्यताको कमी छैन, योग्यतालाई स्वार्थलम्पट बनाउनाले राष्ट्र कमजोर बन्दै गएको छ ।

यही स्वार्थी चरित्र राजनीतिको अक्षम कार्यकाल बन्नपुगेको छ, राजनीतिक नेतृत्वलाई बुख्याँचा बनाएको छ । बुख्याँचाले सिर्जना गर्न सक्दैन, बुख्याँचा भयको प्रतीकमात्र हो । बुख्याँचा विकास होइन ।

हिजो एउटा राजाको पेट थियो, आज थुप्रै राजा र तिनका ठूला परिवार छन् । राजा सिंहदरवारमा मात्र छैनन्, गल्ली–गल्लीमा जन्मेका छन् । बाहुबलीले पनि आफूलाई राजा नै ठान्छ । कोही जबरजस्ती चन्दा उठाउने राजा, कोही नागरिक अपहरण गरेर फिरौती उठाउने राजा, कोही राज्यको ढुकुटी लुड्याउने र भ्रष्टाचार गर्ने राजा । बजारमा माफिया राजा छ ।

प्रशासनदेखि सुरक्षा निकायसम्म अनाचारका राजा छन् । कूटनीतिज्ञ र राष्ट्रसंघको प्रतिनिधि राजा पनि यहींँ छन् । कूटनीतिज्ञहरुले पनि राजाकै भूमिका निभाइरहेका छन् । भारतका राजदूत त राजाभन्दा माथिको ‘भायसराय’ नै बनेर हुकुम चलाईरहेका छन् । लोकतन्त्रमा रावणकाभन्दा बढी मुख भएका भ्रष्टाचार–रावणहरु देखापरेका छन् । यिनै भ्रष्टाचारीहरु आर्थिक विकासको गफ हाँकेर जनताको आँखामा धुलो छरिरहेका छन् ।

राजनीति सिण्डिकेट बनेको छ । सिण्डिकेट राजनीति र लोकतन्त्रको फ्यूजनले भिजनको ठाउँमा भ्रष्टाचार उत्पादन गरिदिएको छ । हिजो लालफित्ताशाही भनिने स्थायी सरकार आज कुशासनको काई बन्न पुगेको छ । अमान्यहरु सर्वमान्य बनेकाले हिजोको व्यवस्था लाहुरे प्रजातन्त्र बन्यो, आजको व्यवस्था लाहुरे लोकतन्त्र बन्दैछ । विश्वमा कतै लोकतन्त्रको सुखद शासन पङ्गू शासन हो भनेर प्रमाणित भयो भने त्यो नेपालबाटै हुनेछ । यस्ता कोरा कालिगडले निर्माण गर्ने नयाँ नेपाल कस्तो बन्ला ? विहानले दिनेको मौसमको अनुमान गर्छ भनेर मान्ने हो भने लोकतन्त्र लोकलज्जा बनिसक्यो ।

हिजो राजाले खायो, सिध्यायो भनियो । आज सयौंं राजाले ब्रम्हलूट नै मच्चाएका छन् । हिजो पञ्चेले लुटे, आज हामीले किन खान नपाउने भन्ने खालको मनस्थिति विकास भएको छ । लोकशासनका लागि नसुहाउने डरलाग्दा लक्ष्यणहरु विकसित भइरहेका छन् । कम्युनिष्ट र कम्युन्यालिष्ट, कांग्रेस र करप्शन, एमाले र लेमाले, मधेस र बिखण्डनले देशको भविष्य अनिश्चित बनाउन थालेको छ ।

राष्ट्रिय एकता टुक्रा पारेर टोकरी–टोकरीमा बिभाजन गर्नु भनेको लोकतन्त्र विपरित काम हो । यस्तो आपत्तिजनक कामलाई राजनीतिक बर्ग समानता, स्वायत्तता र अधिकारको लेपन लगाइरहेको छ । जुन जनस्वीकार्य छैन । अर्थविकासका सर्तको घोर उल्लंघन पनि हो ।

शान्ति आउँछ, शान्ति ल्याउँछौ भन्ने राजनीतिक दलहरु अपराधीका सेल्टर बनेका छन् । हरेक राजनीतिक दलहरुले अपराधी दस्ता पालेर राखेका छन् । हरेक राजनीतिक नेता अपराधीको संरक्षणमा सुरक्षित छु भन्ने मानसिकता पालेर हिड्डुल गर्छन् । लोकतन्त्र अपराधी चोख्खिने बाइसधारा बनेपछि लोककल्याणकारी राज्य बदनाम हुनु स्वभाविक हो ।

जन–सन्तुष्टिका उत्पादक हुनुपर्ने राजनीतिक दलहरु अपराधको कारखाना बनेपछि लोकतान्त्रिक भुँडी र भ्रष्टाचार बढ्छ । नेपालमा भुँडी भ्रष्टाचार बढेको छ । जय भैरव अर्यालको भुँडी पुराण ।

अहिले संघीयता र सिमांकनको मुद्दामा संविधान रगतले लथपथ हुनथालेको छ । भारत के चाहन्छ, नेपाललाई हति अराजकताको डढेलो बनाउन चाहन्छ, त्यो सन्देश लोकतन्त्रको तुर्की घोडा हाँक्नेहरुले बुझेका छैनन् । जब क्रान्तिनायक, जन–नायकहरु अपराधतन्त्रका खलनायक बन्छन्, विदेशीले यसै गरेर हेप्छन् । यो हेपाई राजनीतिक दलहरुले हाजमोला पचाएझैं पचाउँछन्, तब देश देश नरहेर कठपुतली बन्नपुग्छ । नेपालमा कठपुतली राजनीति चलिरहेको छ ।

लोकतन्त्रको आवरणमा कठपुतली शासन चलिरहेको छ । कठपुतलीको स्वराज हुन्न, स्वचालित शक्ति पनि हुन्न, परजीवीले के विकास गर्ने ? परजीवीको के स्वाधीनता, के सार्वभौमिकता ?

माओवादीले ‘कठपुतली’ शव्द प्रयोगमा ल्यायो । नेपालका नेताहरु कठपुतली नै हुन् । हुन त नागरिकताका सवालमा माओवादी पनि कठपुतली नै बनेर २३ लाख विदेशीलाई नागरिकता बाँड्न सहमत भयो । तर, माओवादी यति शक्तिशाली छ कि उसले चाह्यो भने नेपालको दुर्भाग्यलाई भाग्यमा परिणत गर्नसक्छ ।

त्यो ताकत माओवादीले ‘लालूपाते नुह्यो भुइँतिर’को नाचगानमा फजूल खर्च गरेका पनि देखियो र सँगै नाच्ने नायिका हिरोइनले समेत राजनीतिक नायकलाई पत्याइनन् र राप्रपातिर लस्किइन् । च्याँखे थाप्नेहरु हार्ने खतरामा हुन्छन् । माओवादीको रणनीति च्याँखे बल्झाउने रणनीति बन्नपुग्यो, यो अवसर विदेशीका लागि गोल हान्ने सुवर्ण अवसर बन्यो । नयाँ नेपालको सम्भाबना झन–झन पछि धकेलिदै छ । अहिलेको संवैधानिक संकट त्यही हो, अस्थिरता र अराजकताले अर्थतन्त्र सखाप हुनथाल्नुको कारण पनि त्यही हो ।

आज पनि माओवादी भुँडीलाई महत्व दिइरहेको छ । आफ्नो भुँडी, नेताहरुको भुँडी, कार्यकर्ताहरुको भुँडी, लडाकुको भुँडी, सांसदहरुको भुँडी । सत्तामा पुग्नसके भुँडी झन ठूलो हुने कल्पनामा डुब्यो माओवादी । भुँडी राजनीति दीर्घकालीन हुन्न । जसले निहुँ खोज्छ, पहिलेको राजतन्त्रको स्थितिमा पुर्‍याइदिन्छु भनेर पहलमानको फूर्ति झाड्छ । यस्तो हलुका फूर्तिले आफ्नो कद खस्केको उसले देखिरहेको छैन ।

भुँडीमात्र हेर्दा माओवादी– एमाले र कांग्रेसको हाराहारीमा होइन, हिजोका लुटाह भनिएका पञ्चेको हाराहारी भन्दा पनि तल पुगिसक्यो । लोकतन्त्रको बिडा उठाउनेले आफन्त हेर्ने होइन, भुँडी हेर्ने होइन, तत्कालको स्वादमा जिब्रो फड्कार्ने पनि होइन । माओवादीले त्यही गल्ती गर्‍यो र लोकप्रियताको शिखरबाट ओह्रालो यात्रा सुरु गर्‍यो । भीडलाई शक्तिशाली भएँ भन्ने माओवादीले सोचेको छ ।

माओवादीले बिर्सियो– हिजो पञ्चायतका बेलामा यस्तो भीड जोगमेहर श्रेष्ठले एकरातमा निकाल्थे, राजाका पछाडि हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ भन्नेको कमी थिएन । भीड शक्ति हुनेगर्दैन । नेपोलियन भन्ने गर्थे, मलाई भीड चाहिंदैन, भीडलाई नियन्त्रण गर्नसक्ने सय जना भए पुग्छ । आधुनिक राजनीतिले यो सत्य बुझ्न सकेन वा बुझेर बुझ पचायो । देशलाई बर्बाद पार्दै लगेको छ ।

लोकतन्त्र मुस्ताङ्को चौंरी हो र ? चौंरीको ताजा तातो रगत गिलासको ६० रुपियाँमा तनक्कै पार्नेहरुको भीड लाग्छ । चौंरीको रगत पिएपछि कडा रोग लाग्दैन, निरोगी बन्ने विश्वास गरेर मुस्ताङ्तिर जानेको भीड देखिन्छ आजकल । लोकतन्त्र मुस्ताङ्को चौरीको रगत पिएझैं भ्रष्टाचार पिएर तन्दुरुसत हुनसक्दैन । लोकको तातो रातो रगतलाई भ्रष्टाचार–रस बनाएर पिउने र तन्दुरुस्त हुने सत्ता छेउछाउ भीड देखिन्छ । जनता बिबस छन्, चौंरी बनेर नेताहरुको स्वास्थ्यका लागि रगत–जल पिलाइरहेका छन् । कहिलेसम्म चल्छ यसरी ? एकदिन त जनता पनि ब्यूँझेलान्, हस्तक्षेप गर्न तम्सेलान् ?

आजको मूल प्रश्न लोकतन्त्रको फाँटमा राजनीतिक दलहरु कति लोकतन्त्रवादी देखिए भन्ने हो । शान्ति यिनको एजेण्डा हो । राजनीतिक भुँडी र भ्रष्टाचारले शान्तिमाथि निरन्तर अशान्ति फैलाइरहेको छ । अशान्तिका कारक कसरी लोकतन्त्रवादी हुनसक्छ ? शान्तिकामीले असह्य बलात्कारको बिद्रोह गर्ने दिन पनि आउँछ, त्यो दिन आयो भने त्यसपछिको रक्तपात, गृहयुद्धलाई रोक्ने कसले ? नेपाली जनता उठ्दैन, उठेपछि छोड्दैन भन्ने उदाहरण जनआन्दोलन दुई पनि हो । तीन पनि हुनसक्छ ।

वर्तमानमा देखिएको असह्य राष्ट्रिय बेदना भनेको नेताहरुको खन्चुवा भुँडीप्रेम नै हो । नेताहरुले भुँडीस्वार्थ नबिर्सी अपराधतत्वको आरोपबाट बरी हुनसक्ने छैनन् । भुँडी र भ्रष्टाचार राष्ट्रलाई लागेको क्षयरोगको बिमारी हो । टीबी रोग निश्चित समय औषधि खाने हो भने निको हुन्छ । औषधि टुटाउनु वा छुटाउनु मृत्युलाई निम्त्याउनु हो । विज्ञानको यो सत्यलाई आत्मसात गरेर नेताहरुले हिजोको अवस्थामा देखिएको भुँडीप्रेमलाई निरन्तरता दिए भने यो रोगले लोकतन्त्रलाई भन्दा पनि लोकनेतालाई मृत्युको मुखमा पुर्‍याउने छ । खतराको आहट सुनौं ।

भ्रष्टाचार र खन्चुवा भुँडीका कारणले राजनीतिक नेताहरु बदनाम हुँदै गएका छन् । यो बदनामीमा बच्ने हो भने राजनीतिक नेतृत्वले प्रत्येक नेपालीका छोराछोरीलाई समान आँखाले विधिले हेर्नुपर्‍यो, काविलियतका आधारको सम्मान दिनुपर्‍यो । प्रत्येक नेपालीले खोजेको शान्ति दिएर सबैलाई समान व्यवहार गर्नसक्नु पर्‍यो, देशहित र जनहितलाई प्राथमिकतामा पार्नुपर्‍यो । तवमात्र लोकतन्त्रमा दण्डहीनता, बिधिको शासन र समानताको युग सुरु हुनसक्छ । लोकतन्त्रभन्दा उत्तमतन्त्र अरु छैन ।

जब लोक नै लोकतन्त्रबाट पीडित बन्छन् भने त्यस्तो तन्त्र कसरी लोकतन्त्र भएर रहन सक्छ ? आवरणले सुन हुने भए सबै पित्तल सुन हुने थिए । सुन पनि गोलको भुङ्ग्रोमा नपाकी गहना बन्न सक्दैन । नेताहरु र लोकतन्त्रमाथि खरी घसिदैछ । जनताको, देशको नेता त बन्न सकेनन्–सकेनन्, आफ्नै सिद्धान्तप्रति इमान्दार बन्ने प्रेरणा आफैबाट जगाउन सकेनन् भने आजका लोकनेताहरु भैरव अर्यालका भुँडी पुराणका पात्रभन्दा भिन्न हुने छैनन् । यसकारण भ्रष्टाचारको सुनामी रोकिन जरुरी छ, यो सुनामी रोकियो कि अराजकता र अस्थिरता पनि रोकिने छ, नयाँ नेपाल निर्माण सुरुहुनेछ ।

राजन कार्की
प्रतिक्रियाका लागि:
[email protected]

5895
Shares

ट्रेन्डिङ