सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०

दुर्घटनामा पाँचको मृत्यु

2490
Shares
दुर्घटनामा पाँचको मृत्यु

नुवाकोटबाट काठमाडौँ जाँदै गरेको मिनीट्रक आज बिहान पौने ३ बजे दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।  बेलकोटगढी नगरपालिका–२ बाट कुखुरा बोकेर काठमाडौँ जान लागेको मिनीट्रक पासाङल्हामु सडकखण्डको सिस्नेरी नजिकै ह्याकुलेमा दुर्घटना हँुदा गाडी धनी बेलकोटगढी नगरपालिका–२ साविकको कुमरी गाविस–१ का २६ वर्षका सुदन न्यौपाने र गाडी चालक बेलकोटगढी नगरपालिका–१ साविकको बेलकोट–९ का २४ वर्षका मछिन्द्र पुडासैनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
मिनीट्रक दुर्घटनामा परी दुवै जनाको घटनास्थलमा नै ज्यान गएको नुवाकोटका प्रहरी उपरीक्षक देवबहादुर बोहराले जानकारी दिनुभयो । दुर्घटनामा परी गाडीमा यात्रारत बेलकोटगढी नगरपालिका–२ का २४ वर्षका श्रीकृष्ण न्यौपाने र २३ वर्षका राममणि न्यौपाने घाइते भएका छन् ।
गम्भीर घाइते भएका उनीहरुको ग्रिनसिटी अस्पताल काठमाडौँमा उपचार भइरहेको प्रहरीले जनाएको छ । कुमरीबाट कुखुरा बोकेर काठमाडौँ जान लागेको बा २ ख ४२५१ नम्बरको मिनीट्रक झ्याङ्लीपोखरी–जुरेथुम सडकखण्ड पूरा गरी पासाङल्हामु सडकखण्डमा पुगेको केही दूरीमा नै ककनी गाँउपालिका–४ ह्याकुले भन्ने स्थानमा दुर्घटना भएको थियो ।
रातको समयमा आफैँ अनियन्त्रित भएर गाडी सडकबाट २०० मिटर तल पुगेको थियो । दुर्घटनाबाट गाडी पूर्णरुपमा क्षति भएको छ भने करिब रु दुई लाखको कुखुरा पनि नष्ट भएको छ ।
यसैवीच चितवनको नारायणघाटबाट हेटौँडातर्फ आउँदै गरेको ना६ख ६५६१ नम्बरको ट्रकले रक्सौलबाट काठमाडौं जान आइरहेको बीआर६–डि ५६२५ नम्बरको भारतीय कारलाई हेटौँडा नारायणघाट सडकखण्डको ज्यामिरेमा गएराति १०ः३० बजे ठक्कर दिँदा घटनास्थलमै तीन जना भारतीय नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृत्यु हुने भारतीय नागरिकमध्ये भारतको सीतामाणि बस्ने वर्ष ३९ को नितेशकुमार सिंह र सोही स्थान बस्ने वर्ष ४५ को सञ्जयकुमार शर्मा र अर्का मृतक पुरुष रहेको र उनको सनाखत नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिनुभयो ।
सोही कारमा रहेको भारत सीतामाणि बस्ने रामकुमार शर्माको चितवनस्थित मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था गम्भीर रहेको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

2490
Shares

ट्रेन्डिङ