सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • पूर्वअध्यक्ष बाहिरै राखेर सकियो एन्फाको साधारण सभा, आदेशबारे सचिवालय वेखबर रहेको नाटक

पूर्वअध्यक्ष बाहिरै राखेर सकियो एन्फाको साधारण सभा, आदेशबारे सचिवालय वेखबर रहेको नाटक

120
Shares
पूर्वअध्यक्ष बाहिरै राखेर सकियो एन्फाको साधारण सभा, आदेशबारे सचिवालय वेखबर रहेको नाटक

धुलिखेल :- अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभा पूर्वअध्यक्षलाई बाहिर राखेरै सम्पन्न भएको छ। पूर्वअध्यक्ष गणेश थापालाई प्रवेशमा रोक लगाइएपछि शुक्रबार धुलिखेल नगर सभाहलको गेटमा विवाद उत्पन्न भएको थियो। यद्यपि, सो विवादको प्रभाव सभा सञ्चालनमा भने परेन। भित्र साधारण सभा सञ्चालन भई आगामी आर्थिक वर्षको बजेट तथा वार्षिक क्यालेन्डर लगायतका प्रस्ताव पारित गरिएको छ।

साधारण सभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष टंकलाल घिसिङले पानसमा बत्ती बालेर गरेका थिए। एन्फाले प्रवेश पास नभएको भन्दै थापालाई रोक लगाएको हो। सभास्थलमा उल्लेख्य सङ्ख्यामा सुरक्षाकर्मीहरू पनि खटाइएको थियो।थापाले आफू उच्च अदालत पाटनको आदेशअनुसार सभामा सहभागी हुन आएको दाबी गरेका छन्। “कि अदालतको निर्णय मान्दिन भन्नुपर्‍यो, कि साधारण सभामा प्रवेश दिनुपर्‍यो,” भन्दै उनले सुरक्षाकर्मीहरू र चिनजानका व्यक्तिहरूलाई गुनासो गरेका थिए र लामो समयसम्म गेटमै बसेका थिए।

थापाले एन्फाले आफूलाई रोक्न सक्ने सङ्केत पाएपछि उच्च अदालत पाटनमा रिट दायर गरेका थिए। २१ वैशाखमा न्यायाधीश सुदर्शनदेव भट्टको इजलासले थापाको पक्षमा अन्तरिम आदेश दिएको थियो। सो आदेशअनुसार उनी साधारण सभामा सहभागी हुन आएका थिए।तर एन्फाका प्रवक्ता सुरेश शाहले अदालतको आदेशबारे औपचारिक जानकारी नआएको जिकिर गरेका छन्। “हामीले बुझ्नुपर्ने कुरा के हो भने, एन्फामा अहिले २५-३० वटा मुद्दा छन्। कुन आदेश सचिवालयमा आयो र आएन भन्ने जानकारी सचिवालयबाट आइसकेको छैन, र आएमा अदालतको आदेशको सम्मान गरिनेछ,” उनले भने। “सचिवालय नै हिजोदेखि नै आजकै तयारीमा व्यस्त भएकाले हालसम्म कुनै आदेश आएको आधिकारिक जानकारी सचिवालयले दिएको छैन,” उनले स्पष्ट पारे।

सन् २०१५ अप्रिल १६ मा फिफाले भ्रष्टाचार र आचारसंहिताको उल्लंघनको आरोपमा थापालाई १० वर्षका लागि निलम्बन गरेको थियो। सो निलम्बन सन् २०२५ अप्रिल १५ मा समाप्त भएको हो। प्रतिबन्ध फुकुवा भएपछि थापा पुनः फुटबल गतिविधिमा सक्रिय हुन थालेका छन्।

यद्यपि प्रतिबन्ध सकिएपछि पनि एन्फाले साधारण सभामा थापाको सहभागिता सुनिश्चित गर्न कति तयारी गरेको थियो भन्ने प्रश्न भने अझै अनुत्तरित देखिन्छ। एन्फा पूर्वअध्यक्ष नै सभास्थलमै पुगेर पनि बाहिरै राखेर गरिएको साधारण सभाले एन्फालाई कता लैजान्छ भन्ने हेर्न बाँकी नै छ।

120
Shares

ट्रेन्डिङ