सबैको समाचार
आइतवार, साउन १७, २०८३
  • होमपेज
  • काभ्रेमा आगामी पौषमा जिल्लाव्यापी तेकवान्दो प्रतियोगिता, ४०० खेलाडी सहभागी हुने

काभ्रेमा आगामी पौषमा जिल्लाव्यापी तेकवान्दो प्रतियोगिता, ४०० खेलाडी सहभागी हुने

335
Shares
काभ्रेमा आगामी पौषमा जिल्लाव्यापी तेकवान्दो प्रतियोगिता, ४०० खेलाडी सहभागी हुने

काभ्रे :- जिल्लाको पनौती वडा नं. १, २ र ३ को संयुक्त आयोजनामा तथा कुशादेवी तेकवान्दो डोजाङ्गको सह–आयोजनामा आगामी पौष ४, ५ र ६ गते जिल्लाव्यापी प्रथम तेकवान्दो खेल प्रतियोगिता पनौती–२ स्थित कुशादेवी मा.वि. प्राङ्गणमा हुने भएको छ।

काभ्रे जिल्लाभित्रका विभिन्न डोजो तथा विद्यालयमा रहेका तेक्वान्दो खेलाडीबीच करिब २० विधामा प्रतिस्पर्धा गरिने जनाइएको छ। प्रतिस्पर्धामा सहभागी खेलाडीले कुनै दर्ता शुल्क तिर्नु नपर्ने तथा खाना–बस्ने सम्पूर्ण व्यवस्था आयोजकले मिलाउने जानकारी पनौती वडा नं. २ का अध्यक्ष पुरुषोत्तम अधिकारीले पत्रकार सम्मेलनमार्फत दिनुभयो।

“प्रतियोगिता सम्पन्न गर्न पनौती नगरपालिकाले २ लाख तथा प्रत्येक वडाले आवश्यक बजेट खर्च गर्नेछन्। जिल्ला भर १७ वटा डोजो सञ्चालनमा छन् र सबैले सहभागी हुन पाउनेछन्। ”पनौती नगर उप–प्रमुख गीता बन्जाराले तेक्वान्दो खेल सुरु भएदेखि नै यस क्षेत्रका खेलाडीले निरन्तर राज्यका लागि पदक ल्याइरहेको उल्लेख गर्दै खेलाडीको मनोबल उच्च राख्न, खेलमार्फत स्थानीय क्षेत्रलाई चिनाउन तथा खेलाडीलाई प्रोत्साहन गर्न प्रतियोगिता आयोजना गरिएको बताउनुभयो।

उहाँले खेलाडीलाई सहभागी हुन तथा प्रतियोगिता बारे प्रचार–प्रसार गरिदिन आग्रह समेत गर्नुभयो। आयोजकका अनुसार प्रतियोगितामा जिल्लाभरका करिब ४०० खेलाडी सहभागी हुनेछन्। प्रतियोगिता सम्पन्न गर्न नगर पुरस्कार बाहेक करिब १० लाख रुपैयाँ खर्च हुने आयोजकको भनाइ छ।

पत्रकार सम्मेलनमा पनौतीका जनप्रतिनिधि, खेलाडी तथा तेक्वान्दो डोजाङ्गका जिल्ला नेतृत्वको उपस्थिति थियो।

335
Shares

ट्रेन्डिङ