सबैको समाचार
बुधबार, असार १२, २०८१
  • होमपेज
  • किन तर्सिए पूर्वराजाको वक्तव्यबाट प्रधानमन्त्री ?

किन तर्सिए पूर्वराजाको वक्तव्यबाट प्रधानमन्त्री ?

4445
Shares
किन तर्सिए पूर्वराजाको वक्तव्यबाट प्रधानमन्त्री ?

राजन कार्की
संवैधानिक सीमामा बसेका तत्कालीन राजा ज्ञानेन्द्रले बुधवार ३ सय ८० शव्दको एउटा चिर्कटो वक्तव्य फुत्त के फालेका थिए, सिंहदरवार लुगलुग कामेको देखियो । धरहरा ढलेझैं लोकतन्त्र गल्र्यामगुर्लम ढल्छ कि भनेझैं भयो । राजनीतिक विश्लेषकहरुको विश्लेषण थियो– सरकार र संविधान तत्कालीन राजाको वक्तव्यले नै पन्चर भयो । कति कमजोर रहेछ यो लोकतन्त्र ?
राजा फालियो, धर्मनिरपेक्षता र गणतन्त्र ल्याइयो भनेर फुलेका नेताहरु त सुन्निएर मोटाएका पो रहेछन् । एउटा वक्तव्यले हावा खुस्कनेहरु त अर्काले फुकिदिएका बेलुन पो रहेछन् ।
संविधानले नगििरक हक सुरक्षित गरेको छ, त्यही हक पनि खोस्छु भनेर प्रधानमन्त्री नै जर्किए– धेरै बोले अझ दु:ख पाउँछन् ज्ञानेन्द्रले । कांग्रेसका गृहमन्त्री देखि नयाँशक्ति पार्टी नामधारी कर्कलो पनि नहल्ली धर पाएन, भनिहाले– दरवार हत्याकाण्डको फाइल खोल्नुपर्छ, छानबिन गरेर कारवाही गर्नुपर्छ ।
छ र यस्ता पिपलपाते, भिजेका पराजखुट्टेहरुको ढाडमा हाड ? २०६५ सालमा यिनै पुष्पकमल दाहाल प्रधानमन्त्री भएकै हुन्, उनले भनेकै थिए– दरवार हत्याकाण्डको छानबिन गराउँछु । रुकमांगद कटवाल नामको सिपाहीलाई तह लगाउन नसकेर लुत्रुक्क परेर पद छाडेर भागे । ८ वर्षको छलछाम, जालझेलसहित भारतवादी बनेपछि बल्ल फेरि ९ महिने प्रधानमन्त्री पद भेट्टाएका छन्, त्यो पनि जनताको घृणाले नैतिक धरातल दिनदिनै खुस्कदै जाँदोछ । यिनले फुइँकी हाँकिहाले– धेरै बोले दु:ख पाउनेछौ ।
किन बिर्सेको– ज्ञानेन्द्र त्यो व्यक्तित्व हो, जसले जनादेशको पालना गरेर २०६५ साल जेठ १५ गते राजदरवार त्यागेर नागार्जुनको जंगलतिर लाग्यो । नेपाल मेरो जन्म घर, नेपाल मेरो पितृ घर, नेपाली मेरो परिचय, म यो देश छाडेर कहीँ जान्न भनेर माटोमा टेकिरहेछ, नेपाली हावाको श्वास फेरिरहेछ ।
यो लेख ज्ञानेन्द्रको प्रशस्ती होइन, ज्ञानेन्द्र शाह प्रशंसायोग्य देशभक्त हुन् । उनले गद्दी छाडे देश छाडेनन् । सत्ताका लागि देशका स्वाभिमान, स्वतन्त्रता, एकता, सार्वभौमिकतालाई दाउमा लगाउने नेताहरुभन्दा ज्ञानेन्द्र शाह पक्का, सच्चा नेपाली हुन् ।
उनलाई तर्साउनै पर्दैन, धम्क्याउनै पर्दैन । ज्ञानेन्द्र यहीँ छन्, हिम्मत भए संसार प्रशिद्ध अनुसन्धानकर्ता स्कटलेण्ड यार्डलाई बोलाएर दरवार हत्याकाण्डको छानबिन गराए हुन्छ । जनताको मनमा चिसो पस्नेगरी छानबिन गर्दिउँ, छानबिन गर्दिउँ भनेर सातो लिनैपर्दैन ।
जनताले तिरेको कर, राष्ट्रिय ढुकुटी कार्यकर्तालाई पोस्ता पनि जनताले बोलेका छैनन्, दरवार हत्याकाण्डको अनुसन्धान गराएर गुह्य यथार्थ भए सार्वजनिक गर्दा आमनागरिक खुशी नै हुन्छन् । नगििरकको मनमा जे द्विविधा छ, त्यसको निदान हुन्छ र आशंकाहरु सबै मेटिन्छन् पनि ।
तर तर्साएर तर मार्न पल्केकाहरुले राजनीतिक धर्म, सत्ताको कर्म गर्दैनन्, गर्नै चाहदैनन् । बुझिहालियो, देखिहालियो, एउटा चिर्कटो वक्तव्यले निद हराम हुनेहरु कति ओजनका लोकतन्त्रवादी हुन् । जो संविधान कार्यान्वयन भनेर तीनहात उफ्रिरहेका छन्, तिनले संवैधानिक हक खोस्न कत्ति बेर मानेनन् ।
यसकारण जनआन्दोलनको जगमा उभिएका जति पनि नेता छन्, ती सबै निरंकूशताका प्रतीक हुन् । यी सब काले काले मिलेर खाउँ भाले गर्न पल्केका छन्, त्यसैले नागरिकलाई मानसिक यातना दिएर आफूमाथिको जनाक्रोस अर्कोतिर पन्छाएर हाइसन्चो मान्न खप्पीस छन् ।
तत्कालीन राजालाई प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मले जे जसरी आततायी अभिव्यक्तिको कोर्रा ठोकिरहेका छन्, तिनले मानवीय धर्म बिर्सेका छन् । सत्तामा छन्, सकिन्छ कानुनी कारवाही गर्नु, सकिन्न आतंकवादी चरित्र नदेखाउनु । लोकतन्त्रको गरिमा र महिमामा कुल्चनेहरुले लोकतन्त्र संस्थागत गर्छन् भनेर अव विश्वास नगर्दा हुन्छ । किनभने हाम्रा नेताहरुले भ्रष्टाचारको भाङ खाएर लठ्ठिएकाहरु भागबण्डातन्त्रलाई लोकतन्त्र सम्झिरहेका छन्, राष्ट्रलाई खोरिया बनाइरहेका छन् ।
तत्कालीन राजाले पहिलोपटक जारी गरेको राष्ट्रिय चिन्तनयुक्त राजनीतिक वक्तव्यले राजनीतिलाई तरङिगत नै पारिदियो । मानौं लोकतान्त्रिक नामको राजनीतिक दहमा ज्ञानेन्द्र शाहले ठूलो ढुंगा नै फेकिदिएका हुन् । १० वर्ष जनयुद्ध हाँकेका, जनआन्दोलन जितेर लोकतन्त्रका सारथी बनेका प्रधानमन्त्री पुष्पकमल दाहालको दिनको चैन र रातको निन्द्रा नै उड्यो ।
नेपालका हरेक राष्ट्रिय महत्वका कुरा भारतलाई सुम्पन हतारिने उतैका खेतालाजस्ता दाहाल सरकारका गृहमन्त्री विमलेन्द्र निधिसँग मिलेर पुष्पकमल दाहालले तत्कालीन राजालाई तह लगाउनै पर्ने निधोमा पुगे । बहस छेडे, त्यो बहस पनि नगििरकको हक खोस्ने भनेर पन्चर हुनपुग्यो ।
अहिले निकै तात्तिएका प्रधानमन्त्री र गृहमन्त्री पुसे ठण्डीमा चिस्सिन पुगेका छन् । आमनागरिक र राजनीतिक फाँटमै आवाज उठ्यो, नागरिक हैसियतका तत्कालीन राजाले किन बोल्न नपाउने ?
तत्कालीन राजा, तत्कालीन राष्ट्राध्यक्ष पनि हुन् । उनको पनि मर्यादा हुन्छ । राष्ट्रिय एकता, अखण्डताको चिन्ता गर्दा सरकारमा बसेको माओवादी–कांग्रेस र सडकका भारतवादी बाबुराम बर्बराउनुपर्ने कारणै थिएन । यो नेपाल सरकार र यी नेपाली नेता नै हुन् कि अर्काको इसारामा नाच्ने कठपुतली ?
चित्रबहादुर केसी, नारायणमान बिजुक्छे र केपी ओलीहरुले त्यसै यो सरकारलाई बुख्याँचा सरकार भनेको होइन रहेछ ? घटनाक्रमले त्यस्तै संकेत गर्छ । बरु कांग्रेसकै मन्त्री अर्जुननर्सिंङ केसीले बौद्धिक सुझाव दिए– तीललाई पहाड बनाउनुको अर्थ छैन ।
तत्कालीन राजा ज्ञानेन्द्र विद्रोही होइनन्, उनले बम वा बारुद बोकेर हिडेका पनि छैनन् । सशस्त्र आन्दोलन गर्ने अभिव्यक्ति पनि दिएका छैनन् । नेपालीत्वको रक्षा सुरक्षा हुनुपर्‍योभन्दा उनले के अपराध गरे र उनीमाथि राज्य बर्षिनु पर्ने कारण के ? पूर्वराजा अव मुख सिएर बस । घरमै चाउरिएर बस ।
हलचल नगर भनेर लोकतान्त्रिक प्रधानमन्त्रीले यसरी बोल्न मिल्छ ? नागरिकको हैसियत खोसेर नजरबन्द गर्नुपर्ने अपराधीजस्तो व्यवहार गर्नु भनेको प्रधानमन्त्रीको अमानवीय व्यवहार हो । यो यातनाको अर्को स्वरुप हो । लोकतन्त्रले नागरिकको मुख थुन्नु भन्छ ?
तत्कालीन राजाको एउटा विज्ञप्तीले लोकतान्त्रिक भनिएकाहरुको मुटुमा ढ्याङ्ग्रो नै ठोकेछ । त्यो विज्ञप्तिमा कुनकुन शव्द, वाक्य वा अनुच्छेद आपत्तिजनक छ ? प्रष्ट पार्न सक्छन् यी नेताहरु ? सबै प्रसङ्ग समसामयिक छन्, मनशा, वाचा र कर्मणा मान्दै आएको कुरा हो– नेपालको स्थायी सत्ता भनेकै राष्ट्र र राष्ट्रवासी नै हुन्, यही विषयमा चिन्ता गर्नु नागरिक अधिकार पनि हो । त्यो अधिकार खोस्नु अलोकतान्त्रिक हो र त्यो अलोकतान्त्रिक चरित्र प्रचण्ड सरकारले देखायो ।
निष्कर्षमा भन्नुपर्दा राष्ट्रियता र राष्ट्रिय चिन्तनसहितको विज्ञप्तीलाई अपराध मान्ने प्रधानमन्त्रीसहितका मन्त्रीहरु, नेताहरु कुन श्रेणीका लोकतान्त्रिक हुन् ? निरंकूशता फालेको फुइाकी हााक्नेहरु कतिसम्म निरंकूश बन्न सक्दा रहेछन् ?
रुकुम पुगेर गुरिल्ला ट्रायलको उद्घाटन गरेर काठमाडौं फर्कनासाथ पुष ११ गते माओको फोटोसामु उभिएर लालसलाम भन्न गौरव गरेका पुष्पकमल दाहालले कहिल्यै नेपाल निर्माता, सार्वभौम नेपाली जनताको सामु टाउको झुकाएर जय भनेको सुनिएको छैन । यिनका लागि राष्ट्रियता के, राष्ट्रिय एकता दिवस के ?

4445
Shares

ट्रेन्डिङ